धनगढी । धनगढी उपमहानगरपालिका–३ त्रिभुवन चोकका आन्द्रारोगबाट पीडित विद्यार्थी विपिन कोलीलाई उपचारमा सहयोग पुगोस् भन्ने उद्देश्यले भाटभटेनी सुपरमार्केट धनगढी फोटोग्राफर्स एसोसियसनले १५ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ।
पारिवारिक आर्थिक अवस्था कमजोर भएकाले उपचारमा कठिनाइ भोगिरहेका कोलीलाई धनगढी–३ का वडा अध्यक्ष राजबहादुर ऐरको उपस्थितिमा उक्त रकम हस्तान्तरण गरिएको हो।
सहयोग हस्तान्तरण कार्यक्रममा वडा अध्यक्ष ऐरले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै सहयोग गरेकोमा भाटभटेनी सुपरमार्केट धनगढी फोटोग्राफर्स एसोसियसनको प्रशंसा गरे। उनले विपिनको उपचारका लागि अन्य दाताहरूलाई पनि सहयोग गर्न आग्रह गर्दै संस्थाका सदस्यहरूको व्यापार–व्यवसाय अझ प्रगति होस् भन्ने शुभकामना व्यक्त गरे।
आन्द्रासम्बन्धी समस्याबाट पीडित विपिन कोली हाल धनगढी–३ स्थित त्रिभुवन माध्यमिक विद्यालयमा अध्ययनरत छन्। उनले घाउ अझै निको नभएको, विद्यालय जानसमेत कठिनाइ भइरहेको र आर्थिक अभावका कारण उपचारमा समस्या परेको बताउँदै सहयोगका लागि सबैसँग अपिल गरे।
भाटभटेनी सुपरमार्केट धनगढी फोटोग्राफर्स एसोसियसनका अध्यक्ष रुपेश सुनारले संस्था गठनपछि सामाजिक सेवाका गतिविधिलाई प्राथमिकता दिँदै आएको बताए। उनका अनुसार यसअघि वडा नं. १३ स्थित दृष्टि फाउन्डेसन तथा वडा नं. ४ का क्यान्सर पीडितलाई पनि आर्थिक सहयोग गरिएको थियो।
अध्यक्ष सुनारले आगामी दिनमा पनि विभिन्न संघ–संस्था तथा समुदायसँग सहकार्य गर्दै समाजसेवाका कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे। उनले विगतका केही घटनाबाट सिक्दै संस्थालाई अझ व्यवस्थित बनाइएको र अब सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई थप प्रभावकारी रूपमा अघि बढाइने बताए।
आर्थिक अभावका कारण उपचारबाट वञ्चित हुन सक्ने आन्द्रारोग पीडित विद्यार्थी विपिन कोलीलाई भाटभटेनी सुपरमार्केट धनगढी फोटोग्राफर्स एसोसियसनले गरेको १५ हजार रुपैयाँको सहयोग मानवीय सेवाको उदाहरण बनेको छ। उपचारमा थप सहयोग आवश्यक रहेकाले स्थानीय सरकार, संघ–संस्था, दातृ निकाय तथा सहयोगी मन भएका सबैलाई विपिनको जीवनरक्षाका लागि हातेमालो गर्न आग्रह गरिएको छ।