धनुषाको सबैला नगरपालिका–१२ नहरचोकस्थित मन्दिर परिसरमा मृत भेटिएका पुरुषको घटनालाई धर्मसँग नजोड्न प्रहरीले आग्रह गरेको छ ।
जिल्ला प्रहरी कार्यालयले एक सूचना जारी गर्दै उक्त घटनालाई धार्मिक विवादसँग नजोडी शान्ति कायम राख्नतर्फ सहयोग पुर्याउन सबैलाई अनुरोध गरेको हो । मधेशमा धार्मिक विवाद चर्किरहेका बेला गएराति नहरचोकस्थित मन्दिर परिसरमा अन्दाजी ४० वर्षीय बन्ठु राउत कडेरी मृत अवस्थामा फेला परेका थिए ।
प्रहरीका अनुसार उनी मन्दिरको पुजारी नभई बाहिर कामकाज गर्ने र राति मन्दिरमा सुत्न आउने व्यक्ति हुन् । प्रारम्भिक अनुसन्धानबाट यो घटना विशुद्ध आपराधिक मनसाय भएका व्यक्तिहरूबाट भएको देखिएको प्रहरीको भनाइ छ ।
प्रहरीद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘प्रारम्भिक अनुसन्धानमा बाहिर कामकाज गरी मन्दिरमा सुत्न आउने व्यक्ति भएको र घटना विशुद्ध आपराधिक व्यक्तिहरुबाट भएको देखिएकोले यसलाई धार्मिक विवादसँग नजोडी शान्ति कायम राख्नेतर्फ सहयोग पुर्याउन सम्पूर्ण नागरिकमा अपिल गर्दछौं ।’
यसअघि उक्त मन्दिरका पुजारीको हत्या भएको भन्दै सामाजिक सञ्जाल र केही सञ्चार माध्यममा प्रचार भएको थियो । प्रहरीले यस्ता दाबी भ्रामक रहेको जनाउँदै यस घटनालाई धार्मिक विवादसँग नजोड्न अपिल गरेको हो ।
मृतकको घाँटी र शरीरका विभिन्न भागमा धारिलो हतियार प्रहार गरेको देखिएकाले नियोजित हत्या भएकोमा भने प्रहरीले पनि आशंका गरेको छैन ।