सोमवार, साउन १८, २०८३

शिक्षा र स्वास्थ्य क्षेत्रका उजुरीले भरियो राष्ट्रिय सतर्कता केन्द्र

काठमाडौँ । राष्ट्रिय सतर्कता केन्द्रमा एक वर्षको अवधिमा स्वास्थ्य र शिक्षा क्षेत्रका ३७२ वटा उजुरी परेको छ । आर्थिक वर्ष २०८२/८३ मा शिक्षा क्षेत्रसँग सम्बन्धित १९२ र स्वास्थ्य क्षेत्रसँग सम्बन्धित  १८० वटा उजुरी परेका हुन् । शिक्षा क्षेत्रमा परेका उजुरीमध्ये १०३ वटा र स्वास्थ्य क्षेत्रका १४७ वटा उजुरी फर्छ्योट भएका छन् ।

स्वास्थ्य क्षेत्रमा अधिकांश उपकरण खरिद र कर्मचारीलाई पद अनुसार जिम्मेवारी नदिएको सँग सम्बन्धित छन् । केन्द्रका नीति निर्माण तथा अनुगमन शाखाका अधिकृत शोभित रिजालले प्राप्त उजुरीहरूको अनुगमनको रिपोर्ट प्रधानमन्त्री कार्यालयमा पेस गरिँदै आएको बताए । उनले भने– ‘स्वास्थ्य क्षेत्रमा उजुरीहरू प्राप्त भएपछि त्यसको तत्काल प्रक्रिया अगाडी बढाउँछौ । अनुगमन गरिएको प्रतिवेदन प्रधानमन्त्री कार्यालयमा पेस हुने गर्छ ।’ अधिकांश उजुरीहरू निर्देशन र सतर्क मात्रै गराइने गरेको पाइएको छ ।

केन्द्रमा वीर अस्पतालमा पद अनुसारको जिम्मेवारी नदिइएको, ट्रमा सेन्टरमा सिटीएमआरआई उपकरण खरिद पारदर्शी नभएको विषयमा उजुरी परेको छ । यस्तै, औषधि व्यवस्था विभागले औषधि उद्योगको निरीक्षण प्रतिवेदन सार्वजनिक गोप्य राखेको, प्रसूति गृहमा कर्मचारी नियुक्ति गर्दा सार्वजनिक पत्रपत्रिकामा विज्ञापन नै नगरी गुपचुप भर्ना गरेको विषयमा पनि उजुरी परेको केन्द्रले जनाएको छ ।

सरकारी अस्पतालहरूमा विशेषज्ञ चिकित्सकहरू समयमा नपुग्ने गरेको उजुरी दर्ता भएको छ । स्वास्थ्य सेवाका कतिपय स्वास्थ्यकर्मी कुनै पनि बिदा नलिई जागिर अवधिमा नै स्नातक तहमा जनस्वास्थ्य विषय अध्ययन गरेको विषयमा पनि उजुरी परेको थियो । ती उजुरीहरुबारे सम्बन्धित संस्थाले चित्त बुझ्दो जबाफ दिनुपर्ने हुन्छ ।

यस्तै, शिक्षा क्षेत्रमा त्रिविमा कर्मचारी स्थायी बढुवा प्रक्रिया वैज्ञानिक नभएको, अन्तर प्रदेश सरुवामा चलखेलसँग सम्बन्धित उजुरी पर्ने गरेका छन् । स्थानीय तहले शिक्षक सरुवामा रकम लिने गरेको, प्राध्यापकहरू अध्ययन बिदा गरेपछि नफर्किने र फर्किए पनि बिदा थप्न मात्रै आउने गरेको लगायतका विषयमा उजुरी दर्ता भएको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार शिक्षा क्षेत्रका ८९ र स्वास्थ्य क्षेत्रका ३३ ओटा उजुरी फर्छ्योट हुन बाँकी रहेका छन् ।

पाठ्यक्रम विकास केन्द्रमा समकक्षता दिन पेस भएको निवेदनको सुनुवाइ नभएको, विद्यार्थीहरूको भविष्यमाथि खेलबाड गर्ने गरी उत्तर पुस्तिकाहरू हराउने सम्मका लापरबाही हुँदा पनि परीक्षा नियन्त्रकले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने विषयमा पनि उजुरी परेको थियो ।

कसरी गरिन्छ फर्छ्योट ? 

केन्द्रका अनुसार उजुरीहरू हेलो सरकार, हटलाइन, इमेल, हुलाक, हाते (प्रत्यक्ष) बाट प्राप्त हुन्छन् । प्राप्त उजुरीहरू सुरुमा सङ्कलन गरिन्छ । त्यसपश्चात् सम्बन्धित शाखाले उजुरीबारे प्रारम्भिक अध्ययन गर्छन् । त्यसपछि ती उजुरीहरू उजुरी व्यवस्थापन समितिमा पेस गरिन्छ । समितिको संयोजक केन्द्रका सचिव रहने व्यवस्था छ । हाल केन्द्रको सचिवमा विश्वबाबु पुडासैनी छन् । त्यसपछि कारबाही प्रारम्भको निर्णय हुन्छ । र, प्रत्येक शाखाबाट अन्तिम फर्छ्योट हुने व्यवस्था छ ।

केन्द्रका सूचना सङ्कलन तथा अन्वेषण शाखाका प्रहरी उपरीक्षक शिवकुमार पौड्यालले कारबाहीका लागि केन्द्रले सम्बन्धित निकाय वा अधिकारीलाई निर्देशन वा सुझाव वा ध्यानाकर्षण गराउने गरिएको बताए । पौड्यालले भने–  ‘मुद्दा चलाउने प्रकृतिका उजुरीहरू अख्तियार दुरुपयोग तथा अनुसन्धान आयोगमा पठाउँछौ । हामीले थप कारबाहीका लागि उजुरीहरू अख्तियार पठाउने हो ।’

भ्रष्टाचारजन्य गतिविधिमा सम्बन्धित निकायलाई सतर्क गराउने र छानबिन गरी थप कारबाहीका लागि सिफारिस गर्ने अख्तियारी केन्द्रलाई रहेको छ । प्राविधिक तथा तालिम प्राप्त जनशक्तिको कमी, क्षेत्राधिकारको अस्पष्टता, स्रोत साधनको कमी, नियामक निकायबिचको समन्वयमा कमजोरी रहेको केन्द्रले जनाएको छ ।