आइतवार, साउन १७, २०८३

देउवाका भतिजा ११ महिनादेखि बेपत्ता जस्तै, तलब भने नियमित

धनगढी । जनताले भोट दिएर प्रदेशसभामा पठाएका सांसद प्रकाशबहादुर देउवा भने झन्डै एक वर्षदेखि अमेरिकामै छन्। तर अचम्म के छ भने उनी प्रदेशसभाको बैठकमा देखिँदैनन्, जनताको समस्यामा बोल्दैनन्, तर सांसदको तलब र सेवा–सुविधा भने घडीझैँ नियमित बुझिरहेका छन्।

प्रदेशसभा सचिवालयको जवाफ पनि उस्तै परिचित छ “कानुनी आधार छैन।” अर्थात् सांसद काममा नआए पनि तलब रोकिन्न, किनकि कागजमा सबै मिलेको छ। जनताले प्रतिनिधि पाए वा नपाए, राज्यको ढुकुटीबाट पैसा भने रोकिने छैन।

प्रकाश देउवा २०८२ साल भदौ अन्तिम साता अमेरिका गएका थिए। स्वास्थ्य उपचारको कारण देखाउँदै सभामुखलाई सूचना पठाए, स्वास्थ्य सुधार भएपछि फर्किने प्रतिबद्धता पनि जनाए। तर प्रतिबद्धता कागजमै सीमित रह्यो। एक वर्ष बित्न लाग्दा पनि उनी न प्रदेशसभामा फर्किएका छन्, न निर्वाचन क्षेत्रमा।

प्रदेशसभा नियमावलीले लगातार १० वटा बैठकमा जानकारीबिना अनुपस्थित रहने सांसदको पद रिक्त हुन सक्ने व्यवस्था गरेको छ। तर सूचना दिएकैले उनीमाथि कुनै प्रक्रिया अघि बढेको छैन। नियम पनि पूरा, सुविधा पनि पूरा हराएको केवल जनप्रतिनिधित्व मात्रै।

सचिवालयको भनाइ झन् रोचक छ। प्रदेशसभाले निर्णय नगरेसम्म तलब रोक्न वा कुनै प्रशासनिक कारबाही गर्न सकिँदैन। अर्थात् सांसद विदेशमै बसे पनि प्रणाली मौन बस्छ, तर सुविधा भने रोकिँदैन।

नेपाली कांग्रेसका नेता तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजा प्रकाश देउवा कैलाली–५ (२) बाट निर्वाचित भएका हुन्। उनी प्रदेश सरकारमा भौतिक पूर्वाधार विकासमन्त्रीसमेत भइसकेका व्यक्ति हुन्। तर अहिले उनी अमेरिकाको कुन शहरमा छन्, उपचार कहाँ भइरहेको छ, नेपाल कहिले फर्किन्छन् भन्ने प्रश्नको जवाफ आफ्नै पार्टीसँग छैन।

कांग्रेस कैलालीका सचिव नृप सुनारका अनुसार केही महिनाअघि टेलिफोनमा कुराकानी हुँदा देउवाले स्वास्थ्यका कारण विदेशमै बस्नुपरेको र छिट्टै फर्किने बताएका थिए। त्यसपछि सम्पर्कसमेत हुन सकेको छैन।

यता निर्वाचन क्षेत्रका नागरिक भने प्रतिनिधिविहीनजस्तै बनेका छन्। सडक, खानेपानी, डुबान र विकासका मुद्दा उठाउने सांसद विदेशमा छन्, तर तलब नेपालमै चलिरहेको छ। यस्तो अवस्थामा जनताले एउटा स्वाभाविक प्रश्न सोधिरहेका छन् सांसदको जिम्मेवारी ठूलो कि सुविधा?

अहिलेसम्म देउवा कहिले फर्किन्छन् भन्ने टुंगो छैन। सचिवालय कानुनी प्रक्रियाको प्रतीक्षामा छ, पार्टी नेतृत्वसँग पनि स्पष्ट उत्तर छैन। तर एउटा कुरा स्पष्ट छ जनताको प्रतिनिधि अनुपस्थित छन्, राज्यको तलब उपस्थित छ।