बुधबार, भदौ ३, २०८३

डा. शशांकलाई कमान्ड सुम्पिएपछि पूर्णबहादुर असन्तुष्ट

काठमाडौँ । नेपाली कांग्रेसको इतर (निवर्तमान सभापति शेरबहादुर देउवा र डा. शेखर कोइराला)समूहभित्रको पछिल्लो शक्ति समीकरण र १५औँ महाधिवेशनको जोडघटाउले नयाँ मोड लिएको छ । काठमाडौँमा आइतबार सम्पन्न राष्ट्रिय भेलाले गरेको निर्णयले समूहमा नयाँ हलचल पैदा गरेको छ ।

भेलाले पूर्वमहामन्त्री डा. शशांक कोइरालालाई १५औँ महाधिवेशनसम्मका लागि पार्टीका नियमित क्रियाकलाप संयोजन गर्ने जिम्मेवारी सुम्पिएपछि निवर्तमान उपसभापति एवं जेनजी आन्दोलनपछि विशेष महाधिवेशनले आधिकारिकता नपाउँदासम्म कार्यवाहक सभापतिको जिम्मेवारी सम्हालेका पूर्णबहादुर खड्का भने केही किनारामा परेका छन् ।

साउन २९ देखि ३१ गतेसम्म चलेको इतर समूहको राष्ट्रिय भेलाले ५ बुँदे निर्णय सार्वजनिक गरेको थियो, जसको पहिलो बुँदामा लेखिएको छ- ‘१४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको निर्णय र आयोजनामा १५औँ महाधिवेशन सम्पन्न गरिने र शेरबहादुर देउवाको सभापतित्वमा १५औँ महाधिवेशन सम्पन्न हुनेछ । उहाँकै नेतृत्वमा पार्टी एकतावद्ध भई १५औँ महाधिवेशन सम्भव हुने दृढ विश्वास यो सम्मेलनले व्यक्त गर्दछ । १५औँ महाधिवेशनसम्म आवश्यक पार्टीको नियमित क्रियाकलाप देउवाको निर्देशनमा राष्ट्रिय भेला र सम्मेलनका संयोजकले नै संयोजन गर्दै जानुहुनेछ ।’

राष्ट्रिय भेला आयोजना गर्नका लागि समूहले डा. शशांक कोइरालालाई संयोजक तोकेको थियो । भेलाको पहिलो नम्बरमै रहेको यस निर्णयले व्यवहारतः देउवापछिको जिम्मेवारी डा. कोइरालालाई सुम्पिएको रूपमा खड्का र उनी निकटका नेताहरूले बुझेका छन् ।

जेनजी आन्दोलनपछि विकसित राजनीतिक परिस्थितिमा पार्टीलाई कानुनी र सांगठनिक रूपमा जोगाउन खड्काले भूमिका खेलेका थिए । विशेष महाधिवेशनको दबाब, निर्वाचन आयोग र सर्वोच्च अदालतमा परेका रिटहरूमा कार्यवाहक सभापतिको हैसियतले खड्काले नै समूहका तर्फबाट कानुनी लडाइँको नेतृत्व गरेका थिए ।

तर, निर्णायक मोडमा आएर आफूलाई पन्छाउँदै डा. शशांकलाई जिम्मेवारी दिइएपछि खड्का रुष्ट बनेको उनी निकट एक निवर्तमान केन्द्रीय सदस्यले रातोपाटीलाई जानकारी दिए । त्यसकै सङ्केत स्वरूप उनी आइतबार राष्ट्रिय भेलाको समापन समारोहमा उपस्थित नभएको ती सदस्यले जानकारी दिए ।

खड्का निकट ती नेताले भने, ‘अप्ठ्यारो पर्दा विशेष महाधिवेशनको लफडा सुल्झाउन र कानुनी लडाइँ लड्न उहाँ (खड्का) लाई अगाडि सारियो । उहाँकै मेहनतले पार्टी पुनरवलोकनको प्रक्रियामा समेत गयो, तर अहिले आएर उहाँको योगदानलाई बेवास्ता गर्दै डा. शशांकलाई रोजिएपछि असन्तुष्टि जनाइरहनु भएको छ ।’

राष्ट्रिय भेलाको यो निर्णयले कांग्रेसको इतर समूहमा शेरबहादुर देउवाको उत्तराधिकारीको रूपमा को आउँछ भन्ने चर्चालाई फेरि सतहमा ल्याइदिएको छ । समूहबाट १५औँ महाधिवेशनमा डा. शेखर कोइराला पनि सभापतिको दाबेदार छन् ।

भेलाले डा. शशांकलाई संयोजनको जिम्मेवारी सुम्पिएको छ । तर, डा. शशांकले १५औँ महाधिवेशनमा आफू सभापतिको दाबेदार रहेको बताउँदै आफ्ना दाइसमेत रहेका डा. शेखर उठेमा सघाउने सार्वजनिक रूपमै बताइसकेका छन् ।

केहीले त कार्यवाहकको जिम्मेवारीमा रहेका खड्कालाई बाइपास गरेर शशांकलाई ‘संयोजक’ को भूमिका दिनुले देउवा समूहभित्र पनि असन्तुष्टि बढ्ने देखिएको बताउन थालेका छन् ।