बुधबार, भदौ ३, २०८३

सर्पदंशबाट घाइते ५ वर्षीय बालकको उपचारकै क्रममा मृ*त्यु

धनगढी । कैलालीको गोदावरी नगरपालिका–६ का पाँच वर्षीय बालक रियान साउदको सर्पदंशबाट उपचारका क्रममा मृत्यु भएको छ।

सागर साउदका छोरा रियानलाई गत साउन २३ गते दिउँसो आफ्नै घरको कोठामा सुतिरहेको अवस्थामा नाम नखुलेको सर्पले दायाँ खुट्टामा टोकेको थियो। सर्पदंशबाट घाइते भएपछि उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी ल्याइएको थियो।

अस्पतालमा उपचाररत रियानको अवस्था गम्भीर रहेको जानकारीपछि अ.प्र.पोष्ट श्रीपुरबाट प्रहरी सहायक निरीक्षक धर्मानन्द भट्टको कमाण्डमा दुई जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो।

प्रहरीका अनुसार उपचारकै क्रममा भदौ १ गते दिउँसो करिब १ः३० बजे रियानको सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो। अस्पतालमा समन्वयका लागि खटिएका प्रहरी कर्मचारीले दिउँसो १ः५५ बजे मृत्यु भएको जानकारी प्रहरीलाई गराएका थिए।

बालकको शव हाल सेती प्रादेशिक अस्पतालमै रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप विवरण संकलन तथा आवश्यक समन्वय भइरहेको छ।