विराटनगरस्थित जिल्ला कारागार मोरङभित्र लागूऔषध पुग्ने गरेको सूचनापछि प्रहरीले सोमबार बिहान सर्च अपरेशन सञ्चालन गर्ने प्रयास गरे पनि कैदीबन्दीको विरोधका कारण अभियान रोकिएको छ।
प्रहरीले सर्च अपरेशन सुरु गरेलगत्तै कैदीबन्दीले नाराबाजी गरेपछि अवस्था तनावपूर्ण बनेको थियो। सम्भावित घटना रोक्न कारागारबाहिर ठूलो संख्यामा सशस्त्र प्रहरी परिचालन गरिएको थियो।
जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलका अनुसार कारागारभित्रबाट आक्रमण तथा आत्मदाह गर्ने धम्की आएपछि सर्च अभियान रोकिएको हो।
उनका अनुसार आइतबार कारागारमा विपश्यनाको योजना बनाउन प्रवेश गर्न खोज्दा पनि कैदीबन्दीले रोक लगाएका थिए। शंकास्पद गतिविधि हुन सक्ने अनुमानपछि सोमबार सर्च अभियान सञ्चालन गर्न खोजिएको भए पनि भित्रको अवस्था उग्र हुने देखिएपछि अभियान रोकिएको हो।