बुधबार, भदौ ३, २०८३

छोराको उपचारका लागि सहयोग माग्दा स्क्याम, उल्टै गुम्यो ३८ लाख

काठमाडौं । मानवीय संवेदनाको फाइदा उठाएर सोझा नागरिकलाई नै ठग्ने प्रवृत्ति अनलाइनमा समेत मौलाउन थालेको छ । छोराको मृगौलामा रहेको पत्थरीको शल्यक्रियाका लागि खर्च जुटाउन नसकेर सामाजिक सञ्जाल टिकटकमा गुहार मागेकी एक महिला आफैँ ठगको जालमा परेर ३८ लाख २८ हजार रुपैयाँ गुमाउन पुगेकी हुन् ।

गएको विहीबार कास्की जिल्ला अदालतमा एउटा अभियोगपत्र दर्ता भएसँगै यो घटना बाहिरिएको हो । कास्की जिल्ला साविक सिलदुजुरे गाविस घर भई हाल पोखरा बस्ने ३९ वर्षीया सरिता थापा (नाम परिवर्तन) ले आफ्ना बिरामी छोराको उपचारमा सहयोगको अपिल गर्दै टिकटकमा भिडिओ सार्वजनिक गरेकी थिइन् । सोही भिडिओका आधारमा उनलाई @princesssultana804 नामक टिकटक ह्यान्डलबाट सम्पर्क गरी सहयोग गर्ने आश्वासन दिइएको थियो ।

अदालतमा दायर अभियोगपत्रका अनुसार, पीडित सरितालाई टिकटकबाट मेसेज गरी ‘हामी सहयोग गर्न चाहन्छौँ’ भन्दै लोभ्याइएको थियो । त्यसपछि उनलाई +४४७८४२४६६६१३ नम्बरको ह्वाट्सएपबाट सम्पर्क गरी सुरुमा ४ हजार १०० रुपैयाँ पठाउन भनियो । ठगहरूले उनलाई लोभ्याउँदै २० लाख रुपैयाँ सहयोग गर्ने र त्यसका लागि केही रकम पठाउनुपर्ने बताएका थिए ।

विश्वास दिलाउनका लागि ठगहरूले २० लाख रुपैयाँ ट्रान्सफर गरेको नक्कली बैंक स्टेटमेन्ट र भन्सार शुल्क लाग्ने भन्दै विभिन्न फोटोहरू समेत पठाएका थिए । सोही प्रलोभनमा परेर सरिताले पटक-पटक गरी कूल ३८ लाख २८ हजार रुपैयाँ विभिन्न बैंक खाताहरूमा जम्मा गरिदिएको सरकारी वकिलको कार्यालयले उल्लेख गरेको छ । उनले छोराको उपचारका लागि सहयोग पाउने आशामा उल्टै आफूसँग भएको र सरसापट गरेको रकम समेत गुमाउन पुगिन् ।

कसको खातामा कति रकम ?

जिल्ला प्रहरी कार्यालय कास्कीको अनुसन्धान अनुसार सरिताले जम्मा गरेको रकम ६ जना व्यक्तिका विभिन्न बैंक खातामा पुगेको देखिन्छ:

  • जेनिशा राई: १८ लाख रुपैयाँ (लक्ष्मी सनराइज बैंक) ।

  • राकेशकुमार जैसवाल: १३ लाख ८९ हजार रुपैयाँ (विभिन्न ६ वटा बैंक र ई-सेवामार्फत) ।

  • रोशन मिया: ५ लाख २० हजार रुपैयाँ (विभिन्न ३ वटा बैंकमार्फत) ।

  • सलमान आलम नेउटा: ७० हजार रुपैयाँ (माछापुच्छ्रे बैंक) ।

  • दिपेश शाही: ५० हजार रुपैयाँ (ग्लोबल आईएमई बैंक) ।

  • सागरकुमार शाह कानु: ४९ हजार रुपैयाँ (ग्लोबल आईएमई बैंक) ।

को हुन् प्रतिवादी ?

यस प्रकरणमा प्रहरीले रकम ट्रान्सफर भएका खातावाला ६ जनालाई नै प्रतिवादी बनाएको छ । जो सबै हाल फरार रहेका छन् । प्रतिवादी हुनेहरूमा जिल्ला बाराका २१ वर्षीय राकेशकुमार जैसवाल, पर्साका १९ वर्षीय रोशन मिया, पर्साकै २२ वर्षीय सलमान आलम नेउटा, पर्साका २२ वर्षीय सागरकुमार शाह कानु, भोजपुरकी २९ वर्षीया जेनिशा राई र डडेल्धुराका २० वर्षीय दिपेश शाही रहेका छन् ।

कास्की जिल्ला सरकारी वकिल कार्यालयले अदालतमा दायर गरेको अभियोगपत्रमा प्रतिवादीहरू विरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दफा २४९ को उपदफा (१) र (२) बमोजिम ठगीको कसुरमा कारबाही माग गरिएको छ ।

अभियोगपत्रमा प्रतिवादीहरूलाई सोही ऐनको दफा २४९ को उपदफा (३) को खण्ड (ग) बमोजिम सात वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिबाना गर्न माग गरिएको छ । साथै, पीडित सरिता थापाको गुमेको ३८ लाख २८ हजार रुपैयाँ बिगो भराउन र क्षतिपूर्ति समेत दिलाउन मागदाबी गरिएको छ ।

यस घटनाले सामाजिक सञ्जालमा गरिने सहयोगका अपिल र अपरिचित व्यक्तिबाट आउने सहयोगको आश्वासनमा कति ठुलो जोखिम लुकेको हुनसक्छ भन्ने देखाएको छ । प्रहरीले फरार प्रतिवादीहरूको खोजी भइरहेको र थप संलग्नता खुल्दै जाने जनाएको छ ।