शनिबार, भदौ ६, २०८३

अन्नपूर्ण हिमालको नाम अब निम्सदाइको नामबाट राखिने

काठमाडौं । दिवंगत विश्वकीर्तिमानी आरोही निर्मल पुर्जा ‘निम्स दाइ’को स्मरणीय योगदानलाई कदर गर्दै म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले अन्नपूर्ण हिमालको नाम ‘अन्नपूर्ण निम्स दाइ फर्स्ट’ राख्ने औपचारिक प्रस्ताव तयार पारेको छ।

पुर्जाले आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल आरोहण गर्ने आफ्नो ऐतिहासिक ‘प्रोजेक्ट पसिबल’ अभियानको सुरुआत अन्नपूर्णबाटै गरेकाले गाउँपालिकाले उनको सम्मानमा उक्त नामकरणको प्रस्ताव चाँडै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पेस गर्ने जनाएको छ।

बेलायतमा उनको अन्त्येष्टि सम्पन्न भएपश्चात् नेपाल सरकारसमक्ष औपचारिक सिफारिस लैजाने तयारी गरिएको गाउँपालिका अध्यक्ष भारतकुमार पुनले जानकारी दिएका छन्।

यसका साथै, पुर्जाको स्मृतिमा सालिक तथा संग्रहालय स्थापना गर्ने योजनासमेत अघि बढाइएको छ। परिवारबाट जग्गा प्राप्त भएमा सोही स्थानमा, अन्यथा पर्यटकीय दृष्टिकोणले चर्चित रुप्से झरना क्षेत्र वा अन्नपूर्ण आधार शिविरमा संग्रहालय बनाइनेछ।

साथै, फ्रान्सेली आरोहीको नाममा रहेको ‘मौरिस हर्जोग ट्रेल’ पदमार्गको नाममा पुर्जाको नाम पनि समावेश गर्ने विषयमा हर्जोगको परिवारसँग आवश्यक परामर्श गरी छलफल अगाडि बढाइने भएको छ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा देशको नाम उच्च राख्ने आरोहीहरूको निधनमा राज्यले उचित राष्ट्रिय सम्मान व्यक्त नगरेकोमा गाउँपालिकाले असन्तुष्टिसमेत प्रकट गरेको छ।