धनगढीः शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको अनुगमन गरेका छन्।
शुक्रबार धनगढीमा आयोजित शिक्षा संवाद कार्यक्रममा सहभागी हुन आएका मन्त्री पोखरेलले गेटामा निर्माणाधीन अस्पताल, एकेडेमिक भवन लगायत विश्वविद्यालयअन्तर्गतका विभिन्न संरचनाको अनुगमन गरेका हुन्।
अनुगमनका क्रममा मन्त्री पोखरेलले विश्वविद्यालयमा यसै शैक्षिक सत्रदेखि पठनपाठन सुरु गर्ने तयारी भइरहेको बताए। उनले विश्वविद्यालय सञ्चालनका लागि भइरहेका प्रयास तथा सहयोगका लागि सम्बन्धित सबैलाई धन्यवादसमेत दिए।
विश्वविद्यालय सञ्चालनका लागि आवश्यक पूर्वाधार, जनशक्ति तथा अन्य व्यवस्थापनका विषयमा समेत सरकारले प्राथमिकताका साथ काम गरिरहेको मन्त्री पोखरेलको भनाइ थियो।