शनिबार, भदौ ६, २०८३

धनगढीमा भन्सार छलीका सामानसहित भारतीय नागरिक प*क्राउ

धनगढीः कैलालीको धनगढी उपमहानगरपालिका–१, एलएन चोकस्थित भित्री सडकखण्डबाट प्रहरीले भन्सार छली गरी भारतबाट ल्याइएका सामान तथा भारतीय गाडीसहित एक जनालाई पक्राउ गरेको छ।

शुक्रबार साँझ वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले भारतको पलिया डीएसएन कलौनी बस्ने ३५ वर्षीय अमित कुमार सक्सेनालाई पक्राउ गरेको हो। उनको साथबाट करिब १ लाख १० हजार रुपैयाँ मूल्य बराबरको पर्दा र १२ लाख रुपैयाँ मूल्य पर्ने यूपी ३१ सीबी २८२६ नम्बरको भारतीय गाडी बरामद गरिएको प्रहरीले जनाएको छ।

बरामद सामान र गाडीसहितको कुल मूल्य करिब १३ लाख १० हजार रुपैयाँ रहेको छ।

यसैगरी, कैलाली जिल्लाका विभिन्न स्थानबाट प्रहरीले भन्सार छली गरी भारतबाट ल्याइएका विभिन्न सामान बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ। शुक्रबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहतका प्रहरी कार्यालयबाट खटिएको टोलीले २ लाख ४ हजार ६२० रुपैयाँ बराबरको बिडी, सुर्ती, पंखाका पाता, मटर, विभिन्न किसिमका कपडा, पानी तान्ने मोटर, किरानालगायतका सामान बरामद गरेको हो।

बरामद सामानलाई आवश्यक प्रक्रिया पूरा गरी सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।