शुक्रबार, अशोज २३, २०८३

धनगढीको हवाई टिकट पाउनै मुस्किल, कहिलेदेखि खुल्छ उपलब्धता?

धनगढीः दसैँ नजिकिएसँगै काठमाडौं–धनगढी हवाई मार्गको टिकट पाउन छोडेको छ। श्री एयरलाइन्सका चार र बुद्ध एयरका दुई गरी दैनिक छ उडान हुँदै आए पनि यात्रुले टिकट पाउन छाडेका छन्।

बुद्ध एयरका धनगढी व्यवस्थापक बुधराम चौधरीका अनुसार दसैँको टीकासम्मकै टिकट बुक भइसकेका छन्। रसुवा बाढीपछि छठ पर्वसम्मका लागि न्यूनतम भाडादर कायम गरिएकाले यात्रुको चाप बढेको उनको भनाइ छ। ‘हामीले रसुवा बाढीपछि छठ पर्वसम्मका लागि न्यूनतम भाडादर नै कायम गरेका थियौँ,’ चौधरीले भने, ‘सोही कारण दसैँसम्मका उडानका टिकट बुक भइसकेका छन्।’ उनका अनुसार ७० सिट क्षमताको जहाजमा दुई–चार जना यात्रुबाहेक सबैले १० हजार आठ सय रुपैयाँ भाडा तिरेर टिकट काटेका छन्।

यता, श्रीएयरलाइन्सका धनगढी इन्चार्ज गजेन्द्र शाहीका अनुसार सोमबारसम्मका टिकट बुक भइसकेका छन्। मंगलबारदेखि भने केही सिट उपलब्ध रहेको उनले दिनेशखबरलाई जानकारी दिए। श्रीएयरलाइन्सले सोमबारदेखि असोज १ गतेसम्म काठमाडौं–धनगढीको भाडा १६ हजार रुपैयाँ निर्धारण गरेको छ। त्यसपछि भने १० हजार आठ सय रुपैयाँ भाडा कायम गरिएको जनाएको छ।

सामान्य अवस्थामा समेत महँगो हवाई भाडा तिर्न बाध्य सुदूरपश्चिमका नागरिकलाई चाडपर्वको समयमा थप आर्थिक भार पर्ने गरेको छ। त्यसैमा हवाई टिकट पाउनै मुस्किल भएपछि दसैँमा घर फर्किने यात्रु समस्यामा परेका छन्।