काठमाडौं । प्रसव पीडाबाट छट्पटाइरहेकी सुनसरीको कोशी गाउँपालिका–३ की लालु सदा एम्बुलेन्सभित्रै प्रसूति गराउन बाध्य भएकी छन् । जिल्ला अस्पताल इनरुवाले भर्ना लिन नमानेपछि उक्त अवस्था आइपरेको बताइन्छ । कागजात नमिलेको भन्दै अस्पतालले भर्ना गर्न नमानेको परिवारको दावी छ। सदालाई अस्पतालले आवश्यक जाँच तथा उपचार नगरी ‘हाई रिस्क’ केस भन्दै अन्यत्र पठाउन खोजेको थियो । त्यसपछि सहयोगीको पहलमा उनलाई विराटनगरतर्फ लैजाने क्रममा दुहबीमै एम्बुलेन्सभित्र सामान्य प्रसूति भएको हो ।
जिल्ला अस्पतालमा २४ सै घण्टा आकस्मिक सेवा सञ्चालनमा रहेको र उक्त सेवाका लागि १५ शैया उपलब्ध छन् । अस्पतालले गर्भवती तथा सुत्केरीसम्बन्धी जाँचलाई समेत आफ्नो नागरिक बडापत्रमा समावेश गरेको छ ।
त्यसैगरी,सरकारी विवरणमा जिल्ला अस्पताल सुनसरीमा मातृ तथा नवशिशु कार्यक्रमअन्तर्गत प्रसूति सेवा,आमा सुरक्षा तथा गर्भवतीसम्बन्धी सेवा सञ्चालनमा रहेको उल्लेख छ ।
अस्पतालको ढोकामा प्रसव पीडाले छट्पटाइरहेकी महिलालाई पहिले स्वास्थ्य परीक्षण र आवश्यक उपचार गर्ने कि कागजात खोज्ने ? विषय चर्को रुपमा उठेको छ ।
अस्पतालले कागजात माग्दै उपचार प्रक्रिया रोकेको हो भने यस विषयमा अस्पताल प्रशासन र सम्बन्धित स्वास्थ्य निकायले घटनाको वास्तविकता, बिरामीको अवस्था,गरिएको जाँच,भर्ना नलिनुको कारण र ‘हाई रिस्क’ भनिएको आधार सार्वजनिक गर्नुपर्ने स्थानीयको माग छ ।
गरिब तथा विपन्न परिवारका बिरामीका लागि सरकारी अस्पताल अन्तिम भरोसाको केन्द्र मानिन्छ । त्यही अस्पतालको ढोकाबाट उपचार नपाई फर्किनुपर्ने अवस्था आएकाले यसलाई एउटा परिवारको समस्या मात्र नभई सरकारी स्वास्थ्य सेवाको पहुँच र जवाफदेहितामाथि उठेको गम्भीर प्रश्नको रुपमा लिनुपर्ने उनीहरु बताउँछन् । यस्तै प्रकरण अघिल्लो महिना सप्तरीको गजेन्द्रनारायण सिंह अस्पतालमा पनि देखिएको थियो