शुक्रबार, अशोज २३, २०८३

भोटेकोशी विपत्तिको ४५ दिन : उजाड बस्ती, बेपत्ता चैन

रसुवा। रसुवाको भोटेकोशीमा विनाशकारी बाढी आएको ४५ दिन बितिसक्दा पनि स्याफ्रुबेँसीका कान्छा तामाङको मनबाट त्यो कहालीलाग्दो क्षण हट्न सकेको छैन। आँखै अगाडि सिङ्गो बस्तीलाई बाढीले सोहोरेर लगेको त्यो विभत्स दृश्य उनको स्मृतिमा कहिलेसम्म रहिरहनेछ, त्यसको कुनै अत्तोपत्तो छैन।

अझै पनि यी सबै घटना सपना मात्र हो कि जस्तो भान हुन्छ उनलाई। यतिका दिन बितिसक्दा पनि कान्छाको आँखासामु भदौ १० गतेको त्यो बाढीको भीषण भेल नाचिरहन छाडेको छैन। बाढी आउँदाको त्यो भयानक गड्याङगुडुङ आवाज अझै पनि उनको कानमा निरन्तर गुञ्जिरहेकै छ।

भेलले बगाउँदै गर्दा आफन्तहरूले ज्यान बचाउन गरेको कारुणिक चीत्कार सम्झँदा उनको मन अझै तर्सिन छाडेको छैन। ती मुटु काप्ने घटनाहरू बिर्सन सके मात्र पनि कान्छाको मनको भारी अलिकति हलुका हुने थियो।

बाढीका कारण ज्यान गुमाएका ती आफन्त र गाउँलेहरू अब कहिल्यै फर्केर आउने छैनन्। बाढीमा हराएका प्रियजनहरू फर्किने आशा पनि अब त पूर्ण रूपमा मरिसकेको छ। तैपनि कहिलेकाहीँ कहीँकतैबाट उनीहरू फर्केर आउँछन् कि भन्ने भ्रम कान्छाको मनबाट पूर्ण रूपमा हट्न सकेको छैन।

आँखै अगाडि बगेका ती प्रियजन र बस्तीलाई बाढीले सोहोरेको दृश्य याद आउनासाथ कान्छाको मन झन् भक्कानिएर आउँछ। आफ्नो सुन्दर बस्ती क्षणभरमै उजाड बगरमा परिणत होला र यति धेरै कुरूप बन्ला भन्ने कल्पनासम्म पनि उनले गरेका थिएनन्। अहिले त्यो उजाड बगरलाई हेर्दा उनको आँखा रसाइहाल्छन्।

त्यस दिन बाढीको भेल अस्वाभाविक रूपमा तीव्र र भयावह थियो। बाढी आउनासाथ उनी अलि अग्लो स्थानमा भागेकाले ज्यान जोगाउन त सफल भए, तर सुरक्षित स्थानमा पुगेपछि उनले देखेको दृश्य झनै मुटु काप्ने खालको थियो।

“गड्याङगुडुङ गरेर ठूलो आवाज आयो, के रहेछ भनेर हेर्दा त ठूलो बाढी पो रहेछ,” त्यो दिन सम्झिँदै कान्छाले भने, “बेतोडले भागेर अलि माथि पुगेँ। तल हेर्दा मानिसहरू बगिरहेका थिए, कोही ज्यान बचाउन चिच्याइरहेका थिए। हेर्दाहेर्दै स्याफ्रुबेँसी बजारलाई बाढीले सोहोरेर लग्यो।”

आफू सुरक्षित ठाउँमा पुगे पनि अरूलाई जोगाउन नसकेको गहिरो पीडा भने उनको छातीमा अझै गढेर बसेको छ।

“सयौँ मानिसहरू बगेको हेर्न बाध्य हुनुपर्यो, त्यस्तो भयानक भेलमा पसेर कसैलाई जोगाउन सकिने अवस्था नै थिएन,” कान्छाले भने, “बगिरहेको हेर्नुबाहेक हामीसँग अर्को कुनै विकल्प नै थिएन, सम्झँदा पनि अहिले आङ सिरिङ्ग हुन्छ।”

त्यस दिनको बाढीको भेलले कान्छाका बाल्यकालदेखिका सबै सुन्दर सम्झनाहरू समेत बगाएर लग्यो। सँगै हुर्किएका र खेलेका साथीहरू, परिचित अनुहारहरू र त्यो हराभरा बस्ती अहिले कान्छाका सम्झनामा मात्र सीमित भएका छन्। त्यो गड्याङगुडुङको गर्जन, एकाएक उर्लिएको भेल, मानिसको कारुणिक चीत्कार र आँखै अगाडि सोहोरिएको बस्तीको दृश्य कान्छाको मानसपटलमा ननाचेको कुनै क्षण नै छैन।

विपद् दोहोरिने डरले अझै तर्सिरहन्छ मन

बाढी गएको यतिका दिन बितिसक्दा पनि कान्छाको मन अझै शान्त हुन सकेको छैन। घरीघरी फेरि त्यस्तै ठूलो विपद् दोहोरिने हो कि भन्ने चिन्ताले उनलाई निरन्तर सताइरहेको छ। “त्यो दिन सम्झँदा अहिले पनि डर लाग्छ,” उनले भने, “फेरि यस्तै विपद् दोहोरिन्छ कि भन्ने डर लागिरहन्छ, रातभर आनन्दले निन्द्रा नै पर्दैन।”

कान्छाकी श्रीमती ल्हात्सेन डोल्पालाई पनि आँखै अगाडिको त्यो कहालीलाग्दो घटना न त सम्झिन मन छ, न त सहजै बिर्सन नै सकिन्छ। उनका कयौँ रातहरू पनि डरैडरमा बितिसकेका छन् र मनको त्रास अझै हट्न सकेको छैन। “आकाशमा मेघ गर्जँदा पनि डर लाग्छ, हामीलाई जिन्दगीभर नबिर्सिने गहिरो छाप छाडेको छ त्यो बाढीले,” उनले भनिन्।

अर्का स्थानीय सन्दु ज्ञावाले पनि आफ्ना छ जना आफन्तलाई त्यही विनाशकारी बाढीमा गुमाउनुपरेको छ। बाढीले बगाएको बस्ती फेरि बसाउन सकिएला भन्ने आशा सन्दुलाई छ। भत्किएका घर, सडक र भौतिक संरचनाहरू फेरि निर्माण गर्न सकिएला, तर बाढीले खोसेर लगेका आफन्तहरू भने कहिल्यै फर्कने छैनन्। ती आफन्तहरूको सम्झनाले उनलाई पनि दिनहुँ पिरोलिरहेको छ।

सन्दुको घरलाई भने बाढीले क्षति पुर्‍याउन सकेन। घर जोगिएकामा खुसी हुनुपर्ने भए पनि घरको आँगनको डिलमा उभिएर तल हेर्दा देखिने उजाड बगरले उनको मन झन् भारी बनाउँछ।

आफ्नै घर जोगिएको खुसीभन्दा पनि तलको बगेको बस्ती र आफ्ना आफन्त गुमाएको पीडा उनका लागि निकै ठूलो छ। “बस्ती र घर त फेरि बनाउन सकिएला, तर गुमाएका मान्छेहरूलाई कसरी फर्काउने ?” सन्दुको यो प्रश्नमा बाढीले दिएको पीडाको गहिराइ स्पष्ट झल्किन्छ।

गत वर्ष पनि यस पटकको जस्तै भारी वर्षाबिना नै भोटेकोशीमा बाढी आएको थियो, तर यसपालिको जस्तो भीषण सुनामी भने थिएन। सन्दुको मनमा अर्को ठूलो डरले डेरा जमाएको छ- फेरि यो भन्दा पनि ठूलो बाढी आयो भने के गर्ने ? “अब त जुनसुकै बेला पनि ठूलो बाढी आउला कि भन्ने डर लाग्छ, बचेको घर पनि कुनै दिन बगाएर लैजाला कि भन्ने चिन्ता भइरहन्छ,” उनले भने।

त्यस दिन बाढी आउँदैछ भन्ने पूर्वसूचना आफूहरूले नपाएको सन्दुले बताए। नदीको आवाज अस्वाभाविक रूपमा बढेपछि के रहेछ भनेर हेर्दा मात्रै निकै ठूलो बाढी आएको थाहा भएको थियो। “हामीले बाढी आउँदैछ भन्ने कुनै सूचना पाएका थिएनौँ, त्यस दिन बाढी आएको देख्नेबित्तिकै सुस्केरा हालेर अरूलाई सचेत गराउन खोजेँ, तर कसैले सुनेनन्,” उनले भने।

उर्लिरहेको बाढीको भयावह गर्जनसामु एउटा मानिसको सुस्केराको आवाज कति नै ठूलो हुन्थ्यो र मानिसहरूले सुन्नू। सुनेर पनि भागेर ज्यान जोगाउन भ्याउने अवस्था थिएन। सन्दुले सुस्केरा दिँदादिँदै उनकै आँखा अगाडि बाढीले सिङ्गो बस्ती र मानिसहरूलाई बगाएर लग्यो।

त्यो दिन सम्झिँदा सन्दुको मन अझै झस्किन्छ। “अझै पनि यी सबै कुरा सपना भइदिएहुन्थ्यो जस्तो लाग्छ, बिहान उठ्दा ‘अँ, धन्न सपना पो रहेछ’ भन्न पाए हुन्थ्यो,” उनले भने। तर, त्यो कुनै सपना हुन सक्दैन, यो त एउटा कठोर सत्य हो, जसलाई स्वीकार गर्नुको विकल्प छैन।

स्याफ्रुबेँसी बजारको उजाड बगर हेरेपछि सन्दु आफ्ना गुमाएका आफन्तहरूलाई सम्झिन्छन्। घरको आँगनमा उभिँदा घर बचेको र आफू बाँचेको खुसीभन्दा पनि अरू आफन्त गुमाएको पीडा बल्झिएर आउँछ। बाढीको भेल त तलतिर बगेर गयो, तर त्यसले सन्दु र अन्य बाँचेका मानिसहरूको मनमा छाडेको त्रास भने अझै बगेर जान सकेको छैन।

विपद्पछिको कठिन जीवनस्तर

भोटेकोशी बाढी गएको ४५ दिन बितिसकेको छ। बाढीले खोसेका जीवनहरू अब फर्केर आउने छैनन् र बेपत्ता भएका आफन्त भेटिने आशा पनि मरिसकेको छ।

बाँचेका मानिसहरू भने गुमाएका आफन्तको सम्झनामा टोलाइरहेका छन्। हिजोका सुन्दर बस्ती, हराभरा खेत र प्राकृतिक सौन्दर्यले भरिएको ठाउँ अहिले उजाड बगरमा परिणत भएको छ। त्यो बगर देख्ने जो कोहीको पनि मन भारी हुन्छ र आँखा रसाउँछन्।

बाढीबाट जोगिएकाहरूको जीवन पनि सहज बन्न सकेको छैन। घरबार र आफन्त गुमाएका परिवारको पीडासँगै दैनिक गुजारा चलाउने अर्को ठूलो चुनौती थपिएको छ। “महँगी असाध्यै बढेको छ, हामी प्रभावित क्षेत्रका भए पनि पूर्ण रूपमा प्रभावित परिवारको सूचीमा नपरेकाले राहत लिन जान पनि मन लाग्दैन, किनेर खाऔँ भने नजिकै बजार छैन, अलि टाढा जाँदा सामान असाध्यै महँगो पर्छ,” सन्दुले भने, “बाँच्नेहरूका लागि पनि जिउन निकै गाह्रो भइरहेको छ।”

विपत्तिले दिएको पीडा र अभावका बिच सन्दुको मनमा निराशासँगै पुनः सामान्य जीवनमा फर्कने झिनो आशा पनि बाँकी नै छ। सडक बन्ला, पुल बन्ला, बस्ती फेरि बस्ला र उजाडिएको ठाउँमा पुरानै सौन्दर्य फर्किएला भन्ने आशाले उनलाई घचघच्याइरहन्छ।

पुनर्निर्माणपछि जीवन फेरि सहज बन्ने विश्वास त छ, तर त्यसका लागि कति समय कुर्नुपर्ने हो भन्ने उनलाई थाहा छैन। अहिलेका लागि उनीहरूसँग गुमाएका आफन्तको कहिल्यै नमेटिने सम्झना, विपद्ले छाडेको पीडा र फेरि जीवन लयमा फर्कने प्रतीक्षा मात्र बाँकी छ।

वैकल्पिक आवतजावतका लागि तुइन

केही सामान किन्न र उपचारका लागि जानुपर्दा घण्टौँ कुरेर तुइनबाट आवतजावत गर्नुपर्ने अर्को ठूलो समस्या रहेको कान्छा तामाङले बताए। “तुइनबाट खोला तर्दातर्दै अझै ठूलो बाढी आउँछ र तुइनसहित बगाउला कि भन्ने डर लाग्छ, तर के गर्नु तुइनबाहेक अन्य कुनै विकल्प नै छैन,” उनले भने।

रसुवासहित बाढीबाट प्रभावित क्षेत्रमा वैकल्पिक आवतजावतका लागि चार वटा तुइन निर्माण गरी सञ्चालनमा ल्याइएको छ। स्थानीय पूर्वाधार विकास विभागका उपमहानिर्देशक एवं प्रवक्ता कमलकुमार अधिकारीले बाढी प्रभावित क्षेत्रमा आवतजावतका लागि बनाइएका ती तुइन निर्माण तथा मर्मतमा करिब रु २० लाख खर्च भएको जानकारी दिए।

“नुवाकोटको इन्द्रेणीचौर-गुम्बाडाँडा जोड्ने त्रिशूली नदीको तुइनलाई मोटराइज्ड गरिएको छ, त्यसैगरी रसुवाको गोसाइँकुण्ड गाउँपालिका-५ र ६ स्थित स्याफ्रुबेँसी-चिलिमे जलविद्युत् आयोजना क्षेत्रको तुइनलाई पनि मोटराइज्ड गर्ने काम भएको छ,” उनले भने, “रसुवाको गोसाइँकुण्ड गाउँपालिका-६ स्थित हाकुबेँसी र आमाछोदिङ्मो गाउँपालिका-१ जोड्ने तुइन तथा नुवाकोटको विदुर नगरपालिका-५ देवघाट क्षेत्रका तुइन सञ्चालनमा रहेका छन्।”

अधिकारीका अनुसार थप तीन स्थानमा तुइन जडानको तयारी भइरहेको छ। रसुवाको उत्तरगया गाउँपालिका-४ पैरेबेँसी र नुवाकोटको किस्पाङ गाउँपालिका-५ जोड्ने स्थानमा निर्माण कार्य सुरु भएको छ।

विभागका अनुसार स्याफ्रुबेँसी–लाङटाङ क्षेत्रमा भने खानी क्षेत्र भएकाले नेपाली सेनाले आवागमनमा रोक लगाएपछि स्थान परिवर्तन गर्नुपर्ने भएको छ। रसुवाकै रुङ्गा क्षेत्रमा पनि तुइन जडानको तयारी भइरहेको विभागले जनाएको छ।

विपद्पछि १२ झोलुङ्गे पुलको मर्मत सम्पन्न

भोटेकोशी-त्रिशूली क्षेत्रमा आएको बाढीबाट क्षतिग्रस्त बनेका १२ वटा झोलुङ्गे पुलको मर्मत सम्पन्न भएको छ भने थप नौ वटा पुलको मर्मत कार्य अन्तिम चरणमा पुगेको छ।

स्थानीय पूर्वाधार विकास विभागका उपमहानिर्देशक एवं प्रवक्ता कमलकुमार अधिकारीले बाढीबाट क्षतिग्रस्त पुलको मर्मतका लागि पहिलो र दोस्रो चरणमा आवश्यक स्टिल पार्टस् खरिद सम्पन्न भएको जानकारी दिए। तेस्रो चरणका लागि आवश्यक स्टिल पार्टस् खरिदको सम्झौता भई पहिलो पटकको सामानसमेत आपूर्ति भइसकेको उनले बताए।

विभागका अनुसार मर्मत सम्पन्न भएका पुलहरूमा नुवाकोटका पिमलटार-जागाराम, फोक्सेटार र जिलिङ तथा धादिङका मालिङ्गा-मझुवाटार दोभान, महादेवस्थान, केउरेनी-गहते, बेल्खु-भुतिया, कालिकास्थान, महेशदोभान-मास्टार, चिरौँदी खोला र शीतलबजार-क्युरेनीटार झोलुङ्गे पुल रहेका छन्। गोरखा-चितवन जोड्ने फिस्लिङ झोलुङ्गे पुलको मर्मतसमेत सम्पन्न भएको विभागले जनाएको छ।

विभागका अनुसार यी १२ वटा झोलुङ्गे पुलको मर्मतमा करिब रु तीन करोड खर्च भएको छ। त्यसैगरी गोरखा-धादिङको बादरे, धुवादीघाट, जिन्टे-स्यालटार, धादिङ-नुवाकोट जोड्ने कोल्पु-कल्लेरीघाट, गोरखा-धादिङको जोगीमारा र कौडीखोला, गोरखा-चितवनको कुरिनटार (लेबाटार), धादिङको बिहानी पम्प र मलेखु झोलुङ्गे पुलको मर्मत कार्य अन्तिम चरणमा पुगेको विभागले जनाएको छ।

विभागले बाढीबाट क्षतिग्रस्त झोलुङ्गे पुलको पुनर्निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने कामसमेत सुरु गरेको जनाएको छ। त्यस्तै क्षतिग्रस्त पुल पुनर्निर्माणका लागि आवश्यक लट्ठा खरिद प्रक्रिया अघि बढाइएको छ। थप लट्ठा खरिदका लागि सहमति माग गर्दै मन्त्रालयमा प्रस्तावसमेत पेस गरिएको विभागका उपमहानिर्देशक अधिकारीले जानकारी दिए।