शुक्रबार, अशोज २३, २०८३

कञ्चनपुरमा ११ क्विन्टल बढी तोरीसहित चौधरी पक्राउ

धनगढी । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याइएका ११ क्विन्टलभन्दा बढी तोरीसहित एक जना पक्राउ परेका छन्। प्रहरीले दुई स्थानबाट करिब १ लाख ६८ हजार रुपैयाँका अवैध सामानसमेत बरामद गरेको छ।

जिल्लाको बेलौरी नगरपालिका–२ बैजुडाँडाबाट बिहीबार दिउँसो भन्सार छली गरी ल्याइएको ११ क्विन्टल २६ किलो तोरीसहित स्थानीय ४२ वर्षीय मनोज चौधरी पक्राउ परेका हुन्।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय बेलौरीबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले १ लाख ४८ हजार ६३२ रुपैयाँ बराबरको तोरी बरामद गरेको हो।

त्यसैगरी, भीमदत्त नगरपालिका–१७ बाँसखेडाबाट बिहीबार साँझ २० हजार २०० रुपैयाँ बराबरका पेय पदार्थ, चिनी, सुर्ती, बिँडी लगायतका सामान बरामद गरिएको छ। अस्थायी प्रहरी पोष्ट मझगाउँबाट खटिएको प्रहरी टोलीले उक्त सामान बेवारिसे अवस्थामा फेला पारेको हो।

पक्राउ परेका चौधरीसहित बरामद सामानमाथि आवश्यक कारबाहीका लागि तोरी त्रिनगर भन्सार कार्यालय धनगढी, कैलाली पठाइएको प्रहरीले जनाएको छ।