धनगढीः महाकाली नदीमाथि बनेको दोधाराचाँदनी झोलुंगे पुल भत्किएपछि नेपाली कांग्रेसका नेता रमेश लेखकले पुनर्निर्माणका लागि सरकारको ध्यानाकर्षण गराएका छन्। शुक्रबार भत्किएको पुलको अनुगमनमा पुगेका लेखकले पुलको अवस्थाप्रति दुःख व्यक्त गर्दै यसको यथाशीघ्र पुनर्निर्माण गर्न आग्रह गरेका हुन्। उनले पुलको संरक्षण र नियमित मर्मतसम्भारको व्यवस्था मिलाउन पनि सरकार तथा सम्बन्धित निकायलाई आग्रह गरे।
लेखकले दोधाराचाँदनीको झोलुंगे पुल स्थानीय क्षेत्रको आवागमनमा सहजता ल्याउने संरचना मात्र नभई सिंगो देशको ऐतिहासिक सम्पदा भएको बताए। उनका अनुसार कुनै समय दोधाराचाँदनीबाट नेपालको अन्य भूभागमा आवतजावत गर्न भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता थियो। महाकाली नदीमाथि पुल बनेपछि यस क्षेत्रलाई देशका अन्य भागसँग प्रत्यक्ष जोड्न महत्त्वपूर्ण सहयोग पुगेको थियो।
२०५६ सालमा कञ्चनपुरबाट पहिलोपटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि आफूले महाकाली नदीमा झोलुंगे पुल निर्माण गरी दोधाराचाँदनी जोड्ने प्रस्ताव अघि सारेको स्मरण गर्दै लेखकले त्यसबेला कतिपयले उक्त योजनालाई असम्भव भन्दै ठट्टा गरेको बताए। तर, सरकारको बजेट तथा नेपाली प्राविधिक र निर्माणकर्ताको सहयोगमा पुल निर्माण सम्भव भएको उनको भनाइ छ। उनले उक्त पुलको निर्माणले नेपालका अन्य स्थानमा पनि लामा झोलुंगे पुल निर्माण गर्ने प्रविधिको विकास र विस्तारमा योगदान पुर्याएको उल्लेख गरे।