शुक्रबार, अशोज २३, २०८३

दीपक भट्टको कारागार सरुवामा प्रश्न, नख्खु नै फर्काउन माग

धनगढीः विभिन्न मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका दीपक भट्टलाई नख्खु कारागारबाट सिन्धुपाल्चोक कारागारमा सारिएको विषयमा प्रश्न उठाउँदै उनका बुवा चतुर्भुज भट्टले राष्ट्रिय मानव अधिकार आयोगमा निवेदन दिएका छन्। भट्टले शुक्रबार आयोगको पुल्चोकस्थित कार्यालयमा निवेदन दर्ता गराउँदै छोराको कारागार सरुवाको आधार र कारण छानबिन गर्न तथा मानव अधिकार र संविधानप्रदत्त मौलिक हकको संरक्षणका लागि आवश्यक पहल गर्न माग गरेका हुन्।

चतुर्भुजका अनुसार उनका छोरा दीपकलाई असोज १७ गते नख्खु कारागारबाट सिन्धुपाल्चोक कारागारमा सरुवा गरिएको थियो। दीपकविरुद्ध काठमाडौं जिल्ला अदालत, विशेष अदालत तथा उच्च अदालत पाटनमा मुद्दाहरू विचाराधीन रहेको उल्लेख गर्दै उनले सरुवाको आधार, कारण र निर्णय प्रक्रियाबारे आफूहरूलाई जानकारी नदिइएको बताएका छन्।

मुद्दा दायर नभएको जिल्लास्थित कारागारमा गरिएको सरुवाको औचित्यमाथि प्रश्न उठाउँदै उनले यसले विचाराधीन मुद्दाको न्यायिक प्रक्रियामा प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव पार्न सक्ने आशंका व्यक्त गरेका छन्। उनले कारागार सरुवाको निर्णय, त्यसको आधार तथा सम्बन्धित कागजात अध्ययन गरी आवश्यकताअनुसार स्थलगत अनुगमन गर्न आयोगसँग आग्रह गरेका छन्।

उनले दीपकलाई नख्खु कारागारबाट सिन्धुपाल्चोक सार्नुको कारण र नख्खुमा रहँदाको आचरणबारे जानकारी माग गर्दै नख्खु कारागार तथा कारागार व्यवस्थापन विभागमा समेत निवेदन दिएको बताएका छन्। तर, हालसम्म कुनै जानकारी प्राप्त नभएको उनको भनाइ छ। उनले छोरालाई नख्खु कारागारमा फिर्ता ल्याउन सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिनसमेत मानव अधिकार आयोगसँग माग गरेका छन्।

यसैगरी, आफ्ना छोराविरुद्ध भ्रम फैलाइएको भन्दै चतुर्भुजले आपत्ति जनाएका छन्। विचाराधीन मुद्दामा दीपकलाई दोषीका रूपमा चित्रण गर्ने, चरित्रहत्या गर्ने र सामाजिक प्रतिष्ठामा आघात पुर्‍याउने सामग्री प्रकाशित तथा प्रसारित भइरहेको उनको आरोप छ।

विशेषगरी पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासँग फोन सम्पर्क गरी विचाराधीन मुद्दामा चलखेल गर्न अनुरोध गरेको भन्ने विषयमा उनले गम्भीर आपत्ति जनाएका छन्। उक्त कार्य नगरेको अवस्थामा पनि सत्यजस्तो बनाएर सामग्री प्रकाशित गरिएको उनको दाबी छ।