शुक्रबार, अशोज २३, २०८३

बुढानीलकण्ठमा एउटा घर भाडामा लिएर चिनियाँले गर्दै आएका थिए सुन प्रशोधन

काठमाडौंको बुढानीलकण्ठ क्षेत्रमा एउटा घर भाडामा लिएर चिनियाँ नागरिकले सुन प्रशोधन गर्ने गरेको खुलेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान प्रहरी कार्यालयको टोलीले गोप्य सूचनाको आधारमा प्रहरीको टोली बिहीबार दिउँसो त्यस क्षेत्रमा खटिएको थियो।

प्रहरीलाई ‘शंकास्पद गतिविधि छ, सुन हुनसक्छ’ भन्ने सूचना आएको थियो।

त्यस सूचनाको आधारमा प्रहरीको टोली परिचालन भएको थियो।

प्रहरीको टोली पुग्दा चिनियाँ नागरिक गाडीमा निस्किनै लागेका थिए। त्यही बेलामा प्रहरीले रोकेर गाडी जाँच गरेको कार्यालय स्रोतले जानकारी दिएको छ।

‘गाडी रोकेर हेर्दा अन्दाजी दुई किलो सुन फेला पर्‍यो। त्यसपछि टोली घरभित्र छिरेको हो,’ स्रोतले भन्यो।

घर भित्र प्रवेश गरेपछि तीन जना चिनियाँले प्रहरीमाथि जाइलाग्न खोजेको पनि स्रोत बताउँछ।

‘उनीहरू लुटेरा वा अरू कोही सोचेर हातपात गर्न आए। हामी प्रहरी हौं भनेपछि रोकिए,’ प्रहरी स्रोतले भन्यो।

प्रहरीले त्यहीँबाट उनीहरूलाई नियन्त्रणमा लिएको थियो। पक्राउ पर्ने चिनियाँ नागरिकहरू २७ वर्षका हान फेइ, ३७ वर्षका वाङ जियानझेन र ४७ वर्षीय झोउ लोङक्विन छन्।

भाडामा लिइएको घरमा उनीहरूले सुन गाल्न प्रयोग गरेको मेसिनहरू समेत फेला पारेको छ।

तस्करी गर्दा अर्धठोस अवस्थामा ल्याउने र पछि त्यस घरमा विभिन्न मेसिन र केमिकलको प्रयोग गरी सुनलाई बिस्कुटको आकार दिने गरिएको थियो।

तयारी अवस्थामा रहेका ११ वटा पिसको १०.९९७ किलो सुन बरामद भएको थियो।

त्यस्तै जम्मा १०.७५२ किलो अर्धठोस बरामद भएको हो। अर्धठोस सुनलाई प्लास्टिकमा राखिएको थियो। यसरी दुबै गरी २१.७५० किलोग्राम सुन बरामद भएको हो।

‘सूचना आउँदा यतिधेरै हुन्छ भन्ने लागेको थिएन। त्यहाँ पुग्दा धेरै फेला पर्‍यो,’ स्रोतल भन्यो।

स्रोतका अनुसार उनीहरूले  हङकङबाट हवाइमार्गमार्फत सुन ल्याएको हुनसक्ने प्रहरीको आशंका छ। त्यसबारेमा पनि थप अनुसन्धान भइरहेको छ।