काठमाडौँ :परराष्ट्रमन्त्री शिशिर खनाल फिजी र टुभालुमा आयोजित जलवायु परिवर्तनसम्बन्धी उच्चस्तरीय ‘प्रि–कोप लिडर्स इभेन्ट’ मा सहभागी हुनुका साथै अस्ट्रेलियाको औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश फर्कनुभएको छ ।
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आज संवाददाताहरूसँग कुरा गर्दै उनले बाढीपछिको पुनर्निर्माणका लागि अस्ट्रेलियाले एक करोड ५० लाख अस्ट्रेलियन डलर अनुदान दिने घोषणा गरेको जानकारी दिए ।
बाढी विपद् प्रतिकार्यका लागि अस्ट्रेलियाले घोषणा गरेको कुल सहायता दुई करोड ६० लाख अस्ट्रेलियन डलर पुगेको जानकारी दिँदै मन्त्री खनालले ‘प्रि–कोप लिडर्स प्लेनरी’ मा आफूले हिमनदी पग्लिने र समुद्री सतह बढ्ने समस्या जलवायु सङ्कटका परस्पर जोडिएका पक्ष भएकाले हिमालदेखि समुद्रसम्मका राष्ट्रबीच सहकार्यमा जोड दिएको बताए ।
कोप–३१ का लागि नेपालको प्राथमिकता प्रस्तुत गर्दै उनले तापमान वृद्धिलाई १.५ डिग्री सेल्सियसमा सीमित राख्ने लक्ष्यप्रतिको प्रतिबद्धता, ऋणको भार नथपिने गरी अनुदानमा आधारित जलवायु अनुकूलन वित्त, हानि तथा नोक्सानी कोषको प्रभावकारी परिचालन र ‘सगरमाथादेखि समुद्रसम्म’ साझेदारीमा जोड दिनुभएको थियो ।
आगामी नोभेम्बरमा टर्कीएको अन्टाल्यामा कोप–३१ आयोजना हुँदै छ ।
अस्ट्रेलियाका विदेशमन्त्री पेन्नी वोङसँगको द्विपक्षीय वार्तामा जलवायु सहकार्य, पूर्वसूचना प्रणालीको आधुनिकीकरण, जलवायु अनुकूलित पूर्वाधार र प्राविधिक साझेदारी विस्तारबारे छलफल भएको थियो ।
यसैगरी, न्यु साउथ वेल्सका प्रिमियर क्रिस मिन्ससँगको भेटमा बाढी तथा डढेलो व्यवस्थापन र पुनर्निर्माणमा अनुभव आदानप्रदान गर्ने विषयमा छलफल भएको थियो ।