शेर बहादुुर ऐर/सुदिप थापा
धनगढी– गहिरो खाँडल पारिएको छ । बेल्चाले बालुवाहरुको रेस्सा बनाइएको छ । नदीको धार परिवर्तन भइरहेको छ । दृष्य हो धनगढी उपमहानगरपालिका वडा नम्बर १७ स्थित डुमलिया बस्ती छेउमै रहेको शिवगंगा खोलाको । नदीजन्य पदार्थ सो क्षेत्रबाट उत्खन्न तथा संकलन गर्न नपाएपनि सो क्षेत्रमा विहानदेखि रातीसम्म धनगढीका सवारीसाधन पुग्ने गरेका छन ।
जथाभावी नदीजन्य पदार्थ उत्खन्न तथा संकलन भइरहेको भएपनि कुनै पनि निकायले खोलाको अबैध कार्यमा रोक लगाउन सकेको छैन । स्थानीय नरबहादुर देउवाले शिवगंगा पुलको छेउमै नदीमा पुगेर टिप्पर, ट्याक्टरहरुले बालुवा उत्खन्न गरिरहेको बताए ।

शिवगंगा झोलुङ्गे पुल क्षेत्रमा नदीजन्य पदार्थ उत्खन्न तथा संकलन हुँदा पुलनै कटानको जोखिममा रहेको स्थानीय सिता ओझाले बताइन । उनले सो क्षेत्रमा बालुवा उत्खन्न गरिरहेको विषय राम्रो नलागेको बताइन ।
धनगढी उपमहानगरपालिकाले नदिजन्य पदार्थ उत्खन्न, संकलन तथा ढुवानीका गर्न मिल्ने निश्चित स्थान कायम गरेको छ । तर, उपमहानगरपालिकाले तोकेको स्थानभन्दा बाहिर गएर जथाभावी नदिजन्य पदार्थ उत्खन्न, संकलन तथा ढुवानी भइरहेको पाइएको छ । धनगढीले तयार पारेको वातावरणीय प्रभाव मूल्यांंकन प्रतिवेदन अनुसार धनगढीमा सात वटा घाटस्थलहरुमा नदिजन्य पदार्थ संकलन, उत्खन्न तथा ढुवानी गर्न पाइने भनी स्थान कायम गरिएको छ । तर, घाटस्थलनै नतोकिएका नदिहरुमा ट्याक्टर, स्काभेटर र टिप्परहरु पुग्ने गरेका छन ।
धनगढीले वडा नम्बर २ मोहना, वडा नम्बर १७ (पटेला पुल उत्तर), वडा नम्बर १७ (धनचौरी–१), धनचौरी–२, धनचौरी ३, वडा नम्बर १५ बेली पुल उत्तर, वडा नम्बर १४ खुटिया गाउँ गरि सात वटा घाँटस्थल कायम गरेको छ । धनगढीको वडा नम्बर १६ र १७ जोड्ने शिवगंगा पुललाई यो वर्ष घाटगद्दी कायम गरेको छैन । तर, सोही नदिमा विना अनुमति जथाभावी नदिजन्य पदार्थ उत्खन्न, संकलन र ढुवानी भइरहेको स्थानीयबासीहरु बताउँछन् ।
स्थानीय रिता देउवाले ट्याक्टरहरुले खोलामै खाल्डो खनेर बस्तीलाईनै कटानको जोखिममा पारेको बताइन ।

कैलाली प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले जिल्ला समन्वय समितिका प्रमुखको संयोजकत्वमा नदीजन्य पदार्थ उत्खन्न तथा ढुवानीका विषयमा अनुगमन भइरहेको बताए ।
धनगढीले अवैध तथा गैरकानुनी रुपमा नदिजन्य पदार्थ उत्खन्न, संकलन, ढुवानी, ओसारपसार जस्ता कार्यहरु गरेको पाइएमा जरिवानासहितको कारबाही गर्ने उल्लेख गरेको छ । भनिएको छ– ढुवानीका साधन प्रयोग गर्ने व्यक्ति वा संस्थालाई यस कार्यालयले दण्ड जरिवाना स्वरुप पहिलो पटक एक लाख र सोही साधनले दोस्रो पटक उल्लेखित कार्य गरेको पाइएमा दुई लाख तथा पुनः तेस्रो पटक उल्लेखित प्रकृतिको कार्य गरेको पाइएमा निजले प्रयोग गरेको ढुवानी साधनलाई नपाले जफत गरि लिलाम विक्री गर्ने छ । उक्त जरिवाना कार्यालयले आफै असुल गर्नेछ ।’
शिवगंगा नदिमात्र नभई धनगढी र गोदावरी जोड्ने झोलुङ्गे पुलमा समेत नियमविपरित नदिजन्य पदार्थ उत्खन्न भइरहेको छ । तर, सम्बन्धित निकाय धनगढी, जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समितिले यो विषयमा मौन बसेको छ ।
धनगढीले डमौलियामात्र नभई घाटगद्दी नतोकिएको सोही वडाको शिवगंगाका अन्य स्थानमा पनि नदीजन्य पदार्थ उत्खन्न तथा संकलन गराइरहेको छ ।