मङ्लबार, जेष्ठ ५, २०८३

बोगटान फुड्सिल गाउँपालिकामा मातृभूमि महोत्सव सम्पन्न

डोटी : डोटीको बोगटान फुड्सिल गाउँपालिकामा बोगटान समृद्ध अभियानअन्तर्गत मातृभूमि महोत्सव सम्पन्न भएको छ। समृद्ध बोगटान मूल नारा साथ गाउँपालिकाद्वारा आयोजित महोत्सवको एक समारोहबीच पालिका अध्यक्ष कमल गड्सिलाले उद्घाटन गरेका छन्।

बोगटानको चमरा चौतारास्थित श्री खत्याडी माविमा आयोजित महोत्सवमा बोगटान क्षेत्रको कला, साहित्य, संस्कृति, संकार, सम्पदा र बोगटान क्षेत्रको समृद्धिका आधारबारे विभिन्न बक्ताले परिचर्चा गरेका थिए। बोगटान क्षेत्र कला, संस्कृति र प्रकृतिको अथाह भण्डार रहेको चर्चा गर्दै अध्यक्ष गड्सिलाले यहाँको समृद्धिसँग कला, संस्कृति, प्रकृति, पर्यटन र स्थानीय उत्पादन जोडिएकोले बोगटानको समृद्धिका लागि प्रत्येक वर्ष महोत्सव आयोजना गरिने बताए। उनले महोत्सवका माध्यमबाट अन्यत्र छरिएका बोगटानीहरूलाई पनि जोड्दै लगिने र सबैको सहयोगमा समृद्ध बोगटान अभिष्टलाई पूरा गरिने बताए।