मङ्लबार, जेष्ठ ५, २०८३

‘अटेरी’ सोती !

धनगढी,१९ जेठ 

आइतबार दिउँसो चुरे गाउँपालिकाको कार्यालयमा शिक्षकहरुले आफ्नो मागसहित ज्ञापन पत्र बुझाउन गए । शिक्षकको माग जायज रहेको भन्दै स्थानीय तहका राजनीतिक दलका नेताहरु पनि समर्थनमा पालिका पुगे । शिक्षकका मागहरुलाई नेपाली कांग्रेस चुरे गाउँपालिका सभापति हेमबहादुर शाह, नेकपा माओवादी केन्द्रका चुरे गाउँपालिका अध्यक्ष मोहनबहादुर ठाडा र नेकपा एकीकृत समाजवादीका चुरे गाउँपालिका इन्चार्ज सुरेन्द्र खडायतले एक्यवद्धता जाहेर गर्दै ज्ञापन पत्र गाउँपालिका अध्यक्ष चक्रबहादुर बोगटी, उपाध्यक्ष धना थापा र निमित्त प्रमुख प्रशासकीय अधिकृत विविराज सोतीलाई बुझाए । ज्ञापन पत्र बुझ्न लाग्दा गाउँपालिका अध्यक्ष बोगटी राजनीतिक संस्कार देखाउँदै आफू बसेको कुर्सीबाट उठेर ज्ञापन बुझे । यस्तै गाउँपालिका उपाध्यक्ष धना थापाले पनि संस्कारिक परिचय दिँदै बसेको ठाउँबाट उठेर ज्ञापन बुझिन् । तर, गाउँपालिकाकाका शिक्षा शाखा प्रमुख तथा निमित्त कार्यालय प्रमुखसमेत रहेका सोती भने आफू बसेको कुर्सीबाट डेग चलेनन् ।
राजनीतिक दलले बुझाएको ज्ञापन मात्रै हैन नेपाल शिक्षक महासंघ, नेपाल शिक्षक संघ र एकीकृत अखिल नेपाल शिक्षक संघद्वारा संयुक्त रुपमा बुझाइएको ज्ञापन पत्र पनि सोतीले कुर्सीमै बसेरै लिए । ज्ञापन बुझाएको तस्बिर लिन खोज्दा पनि सोती कुर्सीबाट हल्लिएनन् । कुर्सीमा बसेरै ज्ञापन पत्र बुझ्दा त्यहाँ उपस्थित करिब २५÷३० जना शिक्षक, राजनीतिक दलका नेताहरु मुखामुख गर्न थाले । उनले सामान्य संस्कार समेत नदेखाएको भन्दै कानेखुसी चल्न थाल्यो । सामान्यताः औपचारिक रुपमा कुनै ज्ञापन पत्र बुझाउँदा प्रमुख जिल्ला अधिकारीदेखि कार्यालय प्रमुखहरुले पनि आफू बसेको कुर्सीबाट संस्कार देखाउँदै उभिएर ज्ञापन पत्र बुझ्ने गरिन्छ । तर, उनै सोती भने बसेर ज्ञापन पत्र बुझेको भन्दै चौतर्फी आलोचित बने । ‘सामान्यतयाः मुख्यमन्त्री, मन्त्रीहरु, प्रधानमन्त्री तथा जिल्लाकै सिडिओ साप पनि ज्ञापन पत्र बुझ्न लाग्दा आफू बसेको कुर्सीबाट उठ्नुहुन्छ र संस्कार देखाउनुहुन्छ,’ नेपाली कांग्रेसका नेता टीकाराम ढुंगानाले भने,‘तर, गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सोती आफू बसेको कुर्सीबाट उठ्दै उठेनन् । ज्ञापन पत्र बुझेको तस्बिर लिन लाग्दा पनि उठ्नै चाहेनन् ।’
गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षले राजनीतिक संस्कार देखाएर आफू बसेको ठाउँबाट उठेर ज्ञापन पत्र बुझे पनि कार्यालय प्रमुख सोतीले भने बसेर बुझ्नु राजनीतिक दलको अपमान गरेको महसुस भएको नेकपा एकीकृत समाजवादीका चुरे गाउँपालिका इन्चार्ज सुरेन्द्र खडायले बताए । उनले भने,‘सोतीजीले राजनीतिक दलप्रति देखाउनु भएको व्यवहार ठाडो अपमान भएको हामीले बुझेका छौँ ।’ राजनीतिक दलहरुलाई सोतीले अटेर गरेको महसुस गरेको उनी बताउँछन् । ‘गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष जस्तो उच्च पदस्थ व्यक्तिले ज्ञापन पत्र बुझ्दा उभिएर संस्कार देखाउनुभयो,’ उनले भने,‘तर, उहाँमा त्यो संस्कारै रहेनछ ।’