शिखर नगरपालिकाले कक्षा ६ देखि ८ सम्मका विद्यार्थीहरूका लागि स्थानीय पाठ्यपुस्तक निर्माणको तयारी अन्तिम चरणमा पुर्याएको छ। नगरपालिकाले यसअघि नै कक्षा १ देखि ५ सम्मका लागि स्थानीय पाठ्यपुस्तक अध्यापन सुरु गरिसकेको थियो।
पाँच दिनदेखि विषयविज्ञ २० जना शिक्षकको सक्रिय सहभागितामा विषयगत छलफल गर्दै नयाँ पाठ्यक्रमको सूची तयार गरिएको छ। शिक्षा शाखा प्रमुख शेरबहादुर कार्कीका अनुसार पाठ्यक्रमको प्रारम्भिक संरचना तयार भइसके पनि फिल्ड अध्ययनसहित माटो सुहाउँदो सामग्री निर्माण गर्न अझै केही समय लाग्नेछ।
नगर उपप्रमुख सुनिता रावलले छोटो समयमा पनि विषयविज्ञ शिक्षकहरूले उत्कृष्ट प्रारम्भिक मस्यौदा तयार गरेकोप्रति धन्यवाद व्यक्त गरिन्। “अनुभवी शिक्षकहरूको योगदानले पुस्तक थप समृद्ध र प्रभावकारी हुनेछ,” उनले भनिन्।
नगरपालिकाले अब स्थानीय समाज र भौगोलिक परिवेशसँग जोडिएको पाठ्यपुस्तकलाई मूर्तरूप दिने अन्तिम तयारी गरिरहेको छ।