मङ्लबार, जेष्ठ १९, २०८३

धनगढीमा हत्या गरिएकी युवती खानेपानीकी कर्मचारी, युवकसँग लिभिङ टुगेदरमा थिइन्

धनगढी उपमहानगरपालिका–२ को बैयाबेहडीमा कोठामै हत्या गरेको अवस्थामा फेला परेकी ३० वर्षीया रेणु चौधरी खानेपानीकी कर्मचारी भएको खुलेको छ ।

कञ्चनपुरको पुनर्वास नगरपालिका–११ अमरबस्ती स्थायी घर भएकी चौधरी खानेपानी संस्थान धनगढीकी कर्मचारी रहेको खुलेको हो ।
संस्थानमा उनी कार्यालय सहयोगी पदमा कार्यरत थिइन् ।

चौधरी बिहीबार धनगढी उपमहानगरपालिकाले आयोजना गरेको पानीको गुणस्तर सम्बन्धी तालिममा गएकी थिइन् । शुक्रबार कार्यालय फर्किनुुपर्नेमा उनी आएकी थिइन् । खानेपानी संस्थान स्रोतकाअनुसार उनी शुक्रबारदेखि नै सम्पर्कमा थिइनन् ।

प्रहरीकाअनुसार उनी विगत दुई महिनादेखि एक युवकसँगै त्यो घरमा बस्ने गरेकी थिइन् । तर युवकको परिचय भने खुलेको छैन ।
शव गन्ध आएको अवस्थामा भेटिएका कारण उनको केही दिनअघि हत्या भएको आशंका प्रहरीले गरेको छ । गन्ध आएपछि घरधनीले झ्यालबाट चौधरीको कोठामा हेर्दा उनी मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) राजकुमार सिंहले युवतीको घाँटीमा धारिलो हतियार प्रहार गरेर हत्या गरिएको पाइएको बताए । उनकाअनुसार चौधरीको घाँटीमा धारिलो हतियार प्रहार भएको छ भने कन्चटमा पनि चोट देखिएको छ ।

प्रहरीले घटनास्थल सिल गरेर अनुसन्धान अघि बढाएको छ । प्रारम्भिक अनुसन्धानबाट चौधरीको हत्या भएको देखिएपछि प्रहरीले अनुसन्धानमा तालिमप्राप्त कुुकुर समेत प्रयोग गरेको छ ।

प्रायजसो कहिलेकहीँ मात्र देखिने युवक को हुन् ? भन्ने कुरा भने खुलेको छैन । घटनाको विभिन्न कोणबाट अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । तर प्रकृति हेर्दा उनको कोठामै हत्या गरेर बाहिरबाट ताल्चा लगाएर अभियुक्त फरार भएको देखिएको प्रहरीको भनाई छ