शेरबहादुर ऐर
धनगढी– धनगढी उपमहानगरपालिका वडा नम्बर ४ मा रहेको छ –‘केजी अस्पताल ।’ सो अस्पताल हालसम्म स्थानीय तह मातहात रहेको छ । अस्पतालले १५ शैय्याको सञ्चालन अनुमति लगेको भएपनि मापदण्ड विपरित सो भन्दा बढी सेवा प्रदान गरिरहेको पाइएको छ ।
केही दिन अघि जिल्ला प्रशासन कार्यालय कैलालीको नेतृत्वमा भएको स्वास्थ्य संस्था अनुगमनका क्रममा सो अस्पतालले शघन उपचार कक्ष सञ्चालन गरेको पाइएको स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ ।
स्वास्थ्य संस्था तथा अस्पताल सञ्चालन सम्बन्धी मापदण्ड अनुसार १५ शैय्याको अस्पतालले शघन उपचार कक्ष (आइसियु), नवजात शघन उपचार कक्ष लगायत जटिल किसिमका सेवाहरु प्रदान गर्न नपाउने उल्लेख छ । तर, धनगढीमा सञ्चानमा रहेका १५ शैय्या अस्पतालहरु सो नियम विपरित सञ्चालनमा रहेको स्वास्थय कार्यालय कैलालीका प्रमख रमेश कुँवरले बताए ।
धनगढी उपमहानगरपालिका वडा नम्बर २ मा अवस्थित शारथी अस्पताल पनि १५ शैय्या अस्पतालका रुपमा सञ्चालनमा रहेको छ । तर, सो अस्पतालले पनि शघन उपचार कक्षसहित विभिन्न सेवाहरु प्रदान गरिरहेको पाइएको हो ।

केजी र शारथीमात्र नभई धनगढीस्थित १५ शैय्याका अस्पतालहरुले नियमविपरित थप सेवाहरु प्रदान गर्न लागेपछि कानुनी प्रावधानमा आउन स्वास्थ्य कार्यालय कैलालीले अनुरोध गरेको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर १ मा रहेको सञ्जीवनी अस्पताल, नोभा अस्पताल, ओम आशा अस्पताल, सिपी अस्पताल लगायतले नियमविपरित सेवा दिइरहेको स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ । स्वास्थ्य कार्यालय कैलालीले अस्पताल सञ्चालन सम्बन्धी स्पष्ट मापदण्ड रहेकाले कैलाली सञ्चालित अस्पतालहरुले सो नियमअनुसार पालना गर्न अनुरोध गरेको जनाएको छ ।
‘अहिले धनगढीमा सञ्चालनमा रहेका अस्पतालहरुले नियमको विपरित सेवा प्रदान गरिरहेको पाइयो । यसरी सेवा प्रदान गर्नु उपयूक्त देखिदैन । हामीले अनुगमन गरि नियमको पालना गर्न भनेका छौं’ कुँवरले भने –‘दोस्रो पटक अनुगमन गर्दा सोही त्रृटी फेला पारेमा कारबाही प्रक्रिया अघि बढाउने छौं ।’ उनका अनुसार धनगढीमा सञ्चालनमा रहेका १५ शैय्याका अस्पताल नाममात्रैमा सिमित रहेका छन । अस्पतालले १५ शैय्याको अनुमति लगेको छ । तर, अस्पतालभित्र सो भन्दा बढी शैय्या र सो भन्दा बढी सेवा प्रदान गरिरहेको पाइयो ।
उनले भने –‘एकै प्रकारका सेवा अधिकाँस अस्पतालले प्रदान गरिरहेका छन ।’ स्वास्थ्य ऐन अनुसार एकै प्रवृतिको सेवा प्रदान गर्ने स्वास्थ्य संस्थालाई दुरी कायम गरिएको छ । तर, धनगढीमा सो भन्दा विपरित स्वास्थ्य संस्थाहरु धमाधम सञ्चालनमा रहेको छ ।
स्वास्थ्य संस्था सञ्चालन सम्बन्धी मापदण्ड पहिलो संशोधन २०७७ अनुसार ‘१५ शैय्यासम्मका अस्पतालले सम्बन्धित चिकित्सकको उपलब्धतामा आकस्मिक शल्यक्रिया सेवा प्रदान गर्न सक्ने छन तर, अन्य विशेषज्ञ सेवा दिन मिल्ने छैन । यदि अन्य विशेषज्ञ सेवा दिनुपरेमा कम्तिमा ५० शैय्यामा स्तरोन्नति हुनुपर्नेछ ।’
मापदण्डमा भनिएको छ –‘५० शैय्या वा सो भन्दा माथिसम्मका अस्पतालले स्वास्थ्य कार्यालयको समन्वयमा एमसिएच क्लिनिकको समेत व्यवस्था गरेको हुनुपर्नेछ ।’ मापदण्ड अनुसार अस्पतालले आफनै एम्बुलेन्स, अग्नि नियन्त्रक, सवारी पार्किङ लगायतको व्यवस्था गरेको हुनुपर्ने उल्लेख गरेको छ । तर, अहिलेसम्म धनगढीमा सञ्चालनमा रहेका अस्पतालहरुले न त भवन मापदण्ड पालना गरेका छन न त अस्पताल सञ्चालनका न्यूनतम मापदण्डनै पालना गरेका छन ।

अस्पताल सञ्चालन मापदण्डले १५ शैय्या अस्पतालको जनशक्ति व्यवस्थापन, सेवाको मापदण्ड तोकेको छ । जसअनुसार १५ शैय्या अस्पतालले आधारभुत स्वास्थ्य सेवा, सामान्य चिकित्सा, सामान्य शल्यक्रिया, स्त्री तथा प्रसुति सेवा, बालरोग तथा शिशु सेवा र सामान्य दन्त सेवा प्रदान गर्न पाउने उल्लेख छ । तर, अहिलेसम्म धनगढीका अस्पतालले मापदण्ड विपरित कार्य गर्दा समेत नियामक निकायले यसमा नियमन गर्न सकेको छैन । अहिले १५ शैय्या सम्मका अस्पतालहरु स्थानीय तह मातहात रहेका छन । यसको नियमन, अनुगमन तथा यसले प्र्रदान गरिरहेको न्यूनतम सेवालाई स्तरिय र गुणस्तरिय बनाउनतर्फ स्थानीय तहको बढी जिम्मेवारी रहन्छ । तर, स्थानीय तह व्यवसायी कर र नयाँ दर्त शूल्क असुलतर्फ बढी केन्द्रित बनेको छ । जसका कारण धनगढीमा रहेका अस्पतालमा अहिले सेवाग्र्राही मारमा पर्ने गरेका छन ।
धनगढीको आर्थिक ऐन २०८१ अनुसार नीजि अस्पताल १५ सैयासम्म ३० हजार, १६ देखि ४९ सम्म ४० हजार, ५० देखि ९९ सय सैययासम्मका ५० हजार, एक सय सैययाका ६० हजार, नर्सिङ होम ३० हजार, नेत्रालय ३० हजार, पोलिक्लिनिक २५ हजार, विशेषज्ञ चिकित्सकसहितका क्लिनिक आठ हजार, क्लिनिक छ हजार, दन्त क्लिनिक छ हजार, ल्याब, प्याथोलोजि, एक्सरे, इन्डोस्कोपी छ हजार, अल्ट्रासाउण्ड, सिटी स्क्यान, एमआरआई, डाईगेनोष्ट्रिक, इन्डोस्कोपी सात हजार, स्वास्थ्यसम्बन्धी सर्जिकल सामान तथा डाईग्नोसिस केमिलकर्स विक्रेता पाँच हजार, एलोपेथिक औषधिको थोक विक्रेता पाँच हजार, एलोपेथीक औषधिको खुद्रा विक्रेता दुई हजार पाँच सय, आयुर्वेदिक औषधिको थोक विक्रेता तीन हजार, खुद्रा विक्रेता दुई हजार, नेत्र चिकित्सक वा सहायक सहितको चश्मा पसल तीन हजार, चश्माको विक्री तथा मर्मत गर्ने पसल दुई हजार पाँच सय, चिकित्सकीय सेवा प्रदान गर्ने तीन हजार पाँच सय, दाँच मात्र बनाउने दुई हजार र एक्युपन्चर, फिजियोथेरापी, होमियो थेरापीबाट, प्राकृतिक चिकित्सक प्रविधिबाट उपचार गर्ने तीन हजार सेवा शूल्क तोकेको छ ।
नेपाल चिकित्सक संघ सुदूरपश्चिम प्रदेश अध्यक्ष डाक्टर खगेन्द्र राज भट्टले अहिले सुदूरपश्चिमको स्वास्थ्य सेवामा सुधार ल्याउन प्रदेशको अस्थायी राजधानी धनगढीमा स्वास्थ्य सेवालाई गुणस्तरिय बनाउन अस्पतालहरु धमाधम खुल्ने क्रम रहेको बताए । उनले भने –‘विगतमा सामान्य विरामी हुँदा समेत सुदूरपश्चिमका बासिन्दाहरु नेपालगञ्ज, कोहलपुर, काठमाडौं तथा भारतका विभिन्न स्थानमा उपचार गराउनुपर्ने बाँध्यता थियो । अहिले अस्पतालहरु धमाधम सञ्चालन हुँदा त्यो बाँध्यतामा केही कमि आएको छ । तर, अझै पनि आम नागरिकले सोचे अनुसारको सेवा पाउन सकेका छैनन ।’
उनका अनुसार स्वास्थ्य संस्थामा अहिले अस्वच्छ प्रतिपष्र्धाका कारण कैलालीमा रहेका स्वास्थ्य संस्थाहरुप्रति जनविश्वास घट्दै गएकोले गुणस्तरिय सेवामा सरकारी तथा नीजि अस्पतालहरुले ध्यान दिन जरुरी रहेको बताए । ‘अहिले अस्पतालहरुले आफनो सेवाप्रति आम नागरिकको आकर्षण गराउन विभिन्न सेवा सुविधाहरु ल्याइरहेको भएपनि अझै पनि थुप्रै जटिल रोगको उपचार गराउन सर्वसाधारणहरु अन्य प्रदेश तथा भारतीय मुलुकमा जान बाँध्य भइरहेका छन’ उनले भने –‘यहाँको आवश्यकता अनुसार सञ्चालनमा रहेका अस्पतालहरुले सेवा प्रदान गर्नतर्फ केन्द्रित हुन जरुरी देखिन्छ ।
यसअघि त्रृटीबस २५ शैय्याकाे अस्पताल रहेकाे कैलाली अस्पताललाई १५ शैय्या लेखिएकाेले सच्याइएकाे छ । सम्पादक