धनगढी,३२ असार । सुदूरपश्चिम प्रदेश सभाको सामाजिक विकास समितिले मुक्त कमैयाको पुनःस्थापनामा देखिएको समस्याबारे स्थलगत अनुगमन गरेको छ । समितिले मंगलबार कैलालीको गोदावरी नगरपालिका वडा नम्बर १ अत्तरिया र जोशीपुर गाउँपालिकाको वडा नम्बर ३ रामनगर मुक्त कमैया शिबिरमा अनुगमन गरेको हो ।
अनुगमनका क्रममा गोदावरी नगरपालिकाको वडा नम्बर १ अत्तरियामा रहेको मुक्त कमैया शिबिरमा २२ परिवार र जोशीपुर गाउँपालिका वडा नम्बर ३ मा रामनगरमा रहेको मुक्त कमैया शिबिरमा ४ सय ८७ परिवारले तत्कालीनमुक्त कमैया पुनःस्थापना जिल्ला समिति कैलालीबाट जग्गा धनी पूर्जा पाएपनि मालपोत कार्यालयमा श्रेस्ता कायम नहुँदा उनीहरुले जग्गा कानूनी रुपमा प्रयोग गर्न नपाएको तथ्य फेला परेको छ । तत्कालीन जिल्ला विकास समितिका स्थानीय विकास अधिकारी अध्यक्ष र भूमि सुधार तथा ब्यवस्था कार्यालयका प्रमुख सदस्य सचिव रहेको मुक्र कम्रया पुनःस्थापना जिल्ला समितिले दिएको जग्गा धनि पुर्जाको श्रेस्ता नभेटिएपछि मुक्त कमैयाहरुले जग्गा धितो राखेर ऋण लिने जस्ता कानूनी कामहरु गर्न नपाएको बताएका छन् ।
जग्गा प्राप्तिको श्रेस्ता नभेटिएका अत्तरिया क्षेत्रका मुक्त कमैयाहरुले भूमि ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय निवेदन दिएपछि मन्त्रालयले २०८१ जेठ ३० गते नभेटिएका श्रेस्ता कागज खोजि गर्न भूमि सुधार तथा मालपोत कार्यालय कैलालीलाई निर्देशन सहितको पत्र लेख्दा समेत मालपोत कार्यालयले स्थानीय तह वा वडा कार्यालयबाट सिफारिस ल्याउन भन्दै श्रेस्ता खोज्ने काम नगरेको अत्तरिया मुक्त कमैया शिबिरकी फूलमित डगौंरा थारुले बताइन् ।
जोशीपुर गाउँपालिकाको वडा नम्बर ३ रामनगर शिबिरका ४ सय ८७ परिवारले २०६६ मा जग्गा पाएको आधारमा आफुले भागचलन गरेको प्रति परिवार ५ कठ्ठाका दरको जमिनको २०७७ साल देखि जोशीपुर गाउँपालिकामा कर समेत तिर्दै आएका छन् । मुक्त कमैया पुनःस्थापना समितिले उपलब्ध गराएको जग्गाको रेकर्ड हेर्न मालपोत कार्यालय धनगढी जाँदा कार्यालयले सो सम्बन्धी सम्पूर्ण कागजपत्र मालपोत कार्यालय टीकापुरमा पठाइसकेको बताउने गरेको र टीकापुरमा खोज्न जाँदा आफुहरुले प्राप्त गरेको जग्गाको कित्ता नम्बर उल्लेख गरिएको नक्सा मात्रै पाइएको शिबिरका भलमन्सा गणेश डगौंराले बताए ।
स्थलगत अनुगमनपछि दुबै स्थानका पीडित मुक्त कमैयाहरु संग कुरा गर्दै सामाजिक विकास समितिका सभापति धर्म राज पाठकले समाजिक विकास समितिले मुक्त कमैया पुनःस्थापनाका सरोकारवालाहरुसंगै मालपोत कार्यालय, धनगढी र टीकापुरका प्रमुखहरुसंग पुर्जा दिइएका जग्गाको श्रेस्ता कायम नभएको बिषयमा छलफल गर्ने बताएका छन् । सभापति पाठकले मुक्त कमैयाको पुनःस्थापना संग जोडिएका अन्य विषय समेत राखेर सरोकारवालाहरुसंग छलफल गर्ने बताए ।