मङ्लबार, जेष्ठ २६, २०८३

बिनायक टोलबासी भन्छन– ‘घर भत्काएर सडक समयमा बनोस’

शेरबहादुर ऐर
धनगढी– कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १ मुख्य सडकदेखि बिनायक टोलसम्मको सडक स्तरोन्नतिको कार्य जारी रहेको छ । तर, सडक चौडाई गर्ने कार्यमा धनगढी उपमहानगरपालिकाले ध्यान नदिएपछि अहिले स्थानीयहरु आक्रोशित छन ।

धनगढीको मुख्य सडकमै रहेको दुष्यान्त बस्नेत र असिक भट्टले आफनो संरचना नभत्काउँदा सडक स्तरोन्नतिमा अवरोध भएको छ । शनिबार सो टोलका स्थानीयहरुले टोल भेला गर्दै धनगढी उपमहानगरपालिकाको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।

टोल विकास समितिका अध्यक्ष खगेन्द्र बोगटीले उपमहानगरपालिकाले चाँसो नदिँदा सडक स्तरोन्नतिको कार्यमा ढिलाई भइरहेको बताए । उनले भने –‘दुस्यान्त र असिकको संरचना भत्काउन नगर प्रमुख गोपाल हमालले सहमति गरेका थिए । सो समयमा तीन जनाबिच भएको सहमतिका आधारमा टोलका अन्य व्यक्तिहरुले सडक संरचना खाली गरे । तर, मुख्य सडकमा रहेका दुई जनाको संरचना अहिलेसम्म भत्काइएको छैन ।’

असिकले सडकको मुख्य भाग खाली नगरि सडकभित्रै थप संरचना बनाएका छन । उनले आफनो घर नभत्काएर फेरी छज्जा पनि बनाएको छ । तर, धनगढी उपमहानगरपालिकाले बनेको सो संरचना पनि हटाउन नलगाएको उनको भनाई छ ।

धनगढीले सो सडक स्तरोन्नति गर्ने भन्दै दुई वर्षअघि दुष्यान्तको घरमा डोजर चलाएको थियो । तर, अहिलेसम्म सडक क्षेत्र पुर्ण रुपमा खुल्ला भएको छैन । पुर्वाधार विकास कार्यालयमातहात सो सडक निर्माणाधिन अवस्थामा रहेको छ ।

स्थानीयहरुले सो सडकको कार्य पनि गुणस्तरहिन भएको आरोप लगाएका छन । नाला नखोलीदा निर्माणाधिन सडकले घरहरु डुवानमा पर्ने स्थानीय बिरबहादुर साउदले बताए । उनले भने –‘सडक उच्च छ । वर्षातमा पानी जाने निकास दिएको छैन । सामान्य वर्षा भएपनि घरभित्र पस्ने देखिन्छ ।’

बिनायक टोलीमात्र नभई धनगढीमा सडक स्तरोन्नतिका नाममा निर्माणाधिन सडकहरु मापदण्ड अनुसार बन्न सकेका छैनन । धनगढीको लक्ष्मीनारायणदेखि राष्ट्र बैंक, धनगढीको नैनादेवीदेखि एक्सीस विद्यालय जाने सडक लगायत थुप्रै सडकहरु उपमहानगरपालिकाले तोकेको मापदण्ड अनुसार बन्न सकेको छैन । ती सडकहरु कहि साँघुरा छन भने कति चौडाई देखिन्छ । उपमहानगरपालिकाले तोकेको मापदण्ड कार्यान्वयन गर्दा केही व्यक्तिको संरक्षण त केही व्यक्तिहरुको उठिबासनै हुने गरी धनगढीमा निर्माणाधिन सडकमा बसोबास गरिरहेका स्थानीयहरुले भोग्नुपरिरहेको छ ।

सडक समयमानै नबन्नेमात्र नभई निर्माणाधिन सडकहरुमा डोजरले पाइपहरु काटिदिँदा सो क्षेत्र आसपासका स्थानीयहरु खानेपानीको पहुँचबाट पनि बञ्चित हुनुपर्ने अवस्था रहेको छ । खानेपानीको पहुँच सर्वसाधारणको मौलिक अधिकार हो । तर, स्तरोन्नति भइरहेको सडकमा विच्छयाइएका पाइपहरुमा तीन दिनदेखि पानी घरको धारामा नभएको स्थानीयहरु बताउँछन । उनले भने –‘पाइपहरु व्यवस्थित हालेको छैन । जसका कारण अहिले घरका धारामा पानी छैन ।’ उनले सडकहरु निर्माण कार्य जारी रहेकाले डोजरले पाइपमा क्षति पुगेको हुँदा घरमा शुद्ध खानेपानी नआएको बताए ।

धनगढी उपमहानगरपालिका वडा नम्बर १ बिनायक टोलबासीले यथाशिघ्र सडक विस्तार गराउन माग राख्दै धनगढी उपमहानगरपालिकाको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।

निर्णयमा भनिएको छ –‘बिनायक टोल विकास समितिसंगको बाटो विस्तार गर्ने क्रममा भएको छलफलमा अगाडि मुखमा रहेको दुस्यान्त बस्नेत र अशोक भट्टको घरको जिम्मेवारी नगर प्रमुख गोपाल हमाल, धनगढी उपमहानगरपालिका र वडा कार्यालयले लिएको थियो । तर हालसम्म निर्णय अनुसार काम नभएकाले त्यसको समाधानका लागि नगर प्रमुख हमाललाई ध्यानाकर्षण गराउने र यथाशिघ्र निर्णय अनुसारको सडक विस्तार गराउन माग गर्दछौं ।’

सो छलफलमा सहभागि वडा नम्बर १ का वडा अध्यक्ष सन्तोष मुडभरीले सडक विस्तार गराउने कार्यमा आफुले सहयोग गर्ने बताए । उनले मुख्य सडकमा रहेको बस्नेत र अशोकको घरको संरचना खाली गराउन आफुले उपमहानगरपालिकालाई जानकारी गराउने बताए । उनले भने –‘यी दुई जनाको घरले सडक विस्तारमा समस्या भइरहेको छ । उपमहानगरपालिकासंगको सहमतिबारे जानकारी छैन । तर, संरचना खाली गराउन उपमहानगरपालिकालाई भन्ने छु ।’