मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमतर्फ सरदर स्थानको आसपासमा अवस्थित छ। यसको प्रभावले देशका पहाडी भूभागमा सामान्यतया बदली र अन्य भूभागमा आंशिक बदली देखिएको छ।
गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थानमा तथा कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ।
आज दिउँसो कोशी र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भूभागका केही स्थान र तराईका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ। राति पनि कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा वर्षा हुने अनुमान गरिएको छ।
मध्यम वर्षाको सम्भावना रहेका क्षेत्रमा आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।