मङ्लबार, जेष्ठ २६, २०८३

आज हरितालिका तीज, महादेवको पूजाआराधना गरी मनाइँदै

आज भाद्र शुक्ल तृतीयाका दिन हिन्दु महिलाहरू हरितालिका तीज पर्व मनाउँदै छन्। यो दिन देवादिदेव महादेवको पूजाआराधना गरी व्रत बस्ने परम्परा रहिआएको छ।

आजको दिन पशुपतिनाथ लगायत देशभरका शिवालयहरूमा भक्तजनहरूको घुइँचो लाग्ने गर्दछ। आजको विशेष दिनलाई ध्यानमा राखेर भक्तजनहरूको सहजताका लागि पशुपतिनाथका चारै ढोका बिहान ३ बजे बाटै खुल्ला गरिएको छ।

सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा तपस्या गरेर महादेवलाई पति पाएकी थिइन्। पिता हिमालयले विष्णुसँग पार्वतीको विवाह गराउन खोजेपछि साथीहरूले पार्वतीलाई लुकाएर सुरक्षित स्थानमा राखे। त्यही स्थानमा पार्वतीले निराहार व्रत गरी महादेवलाई प्राप्त गरिन्।

स्कन्धपुराणअनुसार औषधि सेवन गर्दा व्रत भङ्ग नहुने उल्लेख छ। धार्मिक विश्वासअनुसार आजको दिन व्रत बस्ने र शिव–पार्वतीको पूजा गर्ने व्यक्तिको मनोकामना पूरा हुने मान्यता छ।