काठमाडौं । सामाजिक सञ्जालमा ‘झोले’ ट्रेन्ड सुरु भएको छ । राजनीतिक दलका नेतासँग फोटो वा भिडिओ खिच्ने व्यक्तिहरूलाई व्यंग्य गर्दै सुरु भएको यो ट्रेन्ड फेसबुक, टिकटक, इन्स्टाग्रामजस्ता प्लेटफर्ममा तीव्र रूपमा फैलिरहेको छ ।
यसअघि भदौ २३ र २४ गते भएको जेन–जी पुस्ताको आन्दोलनको पूर्वसन्ध्यामा ‘नेपो बेबी’ र ‘नेपो किड्स’ ट्रेन्डले सामाजिक सञ्जाल तातेको थियो । नेताका सन्तानको विलासी जीवनशैलीप्रति देखिएको जनआक्रोश त्यतिबेला चरममा पुगेको थियो ।
त्यस आन्दोलनपछि राजनीतिक नेताहरू केही समय सार्वजनिक कार्यक्रमबाट ओझेलमा परे पनि पुनः सक्रिय भएसँगै ‘झोले’ ट्रेन्ड सुरु भएको देखिन्छ ।
नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्रलगायतका ठूला दलका नेताहरू फेरि राजनीतिक गतिविधिमा देखिन थालेपछि, तिनै नेतासँग फोटो वा भिडिओ खिच्दै हिँड्ने कार्यकर्ताहरूलाई लक्षित गर्दै ट्रेन्ड चलेको हो ।
विशेषगरी एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली गुण्डुमा कार्यकर्ता भेटघाटमा जुटेका बेला खिचिएको भिडिओ सामाजिक सञ्जालमा भाइरल बनेपछि ‘झोले’ ट्रेन्डले तीव्रता पाएको हो ।
टिकटकमा नेतासँगै सेल्फी खिच्ने, झण्डा बोकेर र्यालीमा हिँड्ने वा मञ्चमा ताली बजाउँदै नारा लगाउने व्यक्तिहरूको क्लिपहरूलाई सम्पादन गरेर व्यंग्यात्मक शैलीमा प्रस्तुत गरिएको छ ।
कतिपय भिडिओहरूमा नेतासँग नजिक हुन पाउँदा गौरवको महसुस गरिरहेका अनुहारहरूलाई लिप्सिङ, मिम र ह्युमरको रूपमा प्रस्तुत गरिएको छ ।
नेताहरूको छायाँमा रहेर व्यक्तिगत स्वार्थ पूरा गर्नेहरूको प्रवृत्तिप्रति देखिएको असन्तुष्टि ‘झोले’ ट्रेन्डमार्फत प्रकट भइरहेको देखिन्छ ।