सोमवार, जेष्ठ ४, २०८३

धनगढी बस दुर्घटना : यी हुन् मृतक र घाइतेहरु [नामसहित]

धनगढी: धनगढीबाट पोखरातर्फ जाँदै गरेको यात्रुबाहक बस शनिबार बिहान धनगढीको बोराडाँडीमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक राजकुमार सिंहको कमाण्डमा २५ जनाको प्रहरी टोली घटनास्थलमा खटिएको छ। बस चालक फरार रहेको र उनको खोजतलास भइरहेको प्रहरीले जनाएको छ।

बस घटनास्थलमै रहेको छ भने सह–चालक घाइते अवस्थामा उपचाररत छन्। दुर्घटना स्थल जिल्ला प्रहरी कार्यालय कैलालीबाट करिब ४ किलोमिटर पश्चिम पर्छ।

प्रहरीका अनुसार बसमा सवार यात्रु तथा पैदल यात्री गरी २१ जना दुर्घटनामा परेका छन्। तीमध्ये एक जनाको मृत्यु भएको छ भने एक जनाको अवस्था गम्भीर रहेको छ।

दुर्घटनामा धनगढी उपमहानगरपालिका–४ बोराडाँडीका ६० वर्षीय गणेश शाहीको मृत्यु भएको छ। उनको टाउको र छातीमा गम्भीर चोट लागेर मृत्यु भएको हो। शवलाई पोस्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल धनगढी पठाइएको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते भएकामध्ये कैलाली कैलारी गाउँपालिका–१ की २१ वर्षीया सरस्वती चौधरी टाउकोमा चोट लागेर गम्भीर अवस्थामा छन्। कंचनपुर पुनर्वास नगरपालिका–६ का ३२ वर्षीय बिप्लव पोख्रेल नाक र दुबै खुट्टामा चोट लागेर मध्यम अवस्थाका छन्। उनलाई थप उपचारका लागि भारतको लखनउस्थित सामरा अस्पतालमा रिफर गरिएको छ। धनगढी उपमहानगरपालिका–५ हसनपुरका २० वर्षीय सुशिल भट्ट छातीमा चोट लागेर मध्यम अवस्थामा छन्।

त्यस्तै, कंचनपुर पुनर्वास नगरपालिका–८ की २७ वर्षीया अस्मिता भट्टराई निधार र हातमा चोट लागेर उपचाररत छन्। सोही स्थानकी ३४ वर्षीया खडानन्द शर्मा बायाँ हातमा चोट लागेका छन्। पुनर्वास–६ की २६ वर्षीया अन्जना बिश्वकर्मा दाहिने हात र खुट्टामा चोट लागेर मध्यम अवस्थामा छन्। अन्जनाकी ५ वर्षीया छोरी एलियन बिश्वकर्माको पनि हातमा चोट लागेको छ। सोही ठाउँकी ६० वर्षीया लक्ष्मी बिश्वकर्मा दाहिने खुट्टामा चोट लागेर उपचाररत छन्। धनगढी उपमहानगरपालिका–१ का ३४ वर्षीय बिधान भण्डारी दाहिने हात र खुट्टामा चोट लागेका छन्।

नबजिवन अस्पताल धनगढीमा उपचाररत घाइतेहरूमा धनगढी–५ तारानगरका ३२ वर्षीय मनिस श्रेष्ठ रहेका छन्। उनको टाउको र दाहिने हातमा चोट लागेको छ। सोही स्थानकी इन्दु श्रेष्ठको दाहिने हातमा चोट लागेको छ। उनी मनिस श्रेष्ठकी श्रीमती हुन्। उनीहरूको छोरी ६ वर्षीया प्रान्सी श्रेष्ठलाई बाहिरी चोट नलागेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। बसका सह–चालक स्याङ्जा फेदीखोला गाउँपालिका–१ का ३० वर्षीय बुद्ध गुरुङको दाहिने हातमा चोट लागेको छ। उपचारपछि उनलाई जिल्ला प्रहरी कार्यालय कैलालीको नियन्त्रणमा लिइएको छ।

स्वस्तिक कार्डियो अस्पतालमा प्रारम्भिक उपचारपछि केही घाइतेलाई निसर्ग अस्पताल पठाइएको छ। तीमध्ये डोटी जोरायल गाउँपालिका–१ का २४ वर्षीय घनश्याम ओझा टाउको, पेट, हात र आँखामा चोट लागेका छन्। सोही स्थानका २१ वर्षीय पारस ओझा हात र खुट्टामा चोट लागेका छन्। कास्की पोखरा महानगरपालिका–१६ का २१ वर्षीय सुनिल परियार र सोही ठाउँकी ४५ वर्षीया मन्जु परियारलाई हात, खुट्टा र टाउकोमा चोट लागेको छ।

निसर्ग अस्पताल धनगढीमा धनगढी–५ हसनपुरकी ३२ वर्षीया प्रिंयका श्रेष्ठको काध, औँला र दुबै खुट्टामा चोट लागेको छ। उनको अवस्था मध्यम रहेको र सम्पर्क नम्बर ९८४८४३४८०९ रहेको प्रहरीले जनाएको छ। पोखरा–१६ का २५ वर्षीय प्रजोल पहाडी दाहिने हातमा चोट लागेका छन्। कंचनपुर बेलौरी नगरपालिका–३ की २२ वर्षीया सबिना रोकायाको ढाडमा चोट लागेको छ र उनी पनि मध्यम अवस्थामा उपचाररत छन्।

दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जनाको अवस्था गम्भीर र १९ जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानअनुसार बस स्कुटीलाई जोगाउने क्रममा सडकबाट अनियन्त्रित भई दुर्घटना भएको बताइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।