मङ्लबार, जेष्ठ ५, २०८३

सुदूरपश्चिममा निर्वाचन तयारी तीव्र, मतदाता नामावली दर्तामा उत्साह

धनगढी: देशले नयाँ सरकार पाएसँगै आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन हुने भएको छ । प्रतिनिधि सभा विघटनपछि राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ निर्वाचन मिति घोषणा गरेपछि मुलुकभर निर्वाचनको तयारी तीव्र भएको हो । सुदूरपश्चिम प्रदेशमा मात्र १६ लाखभन्दा बढी मतदाता रहेका छन् । आगामी निर्वाचनमा प्रत्यक्ष तर्फका १६ प्रतिनिधि सभा क्षेत्रमा मतदान हुनेछ । निर्वाचन आयोगले गत शुक्रबारदेखि मतदाता नामावली दर्ता सुरु गरेको छ भने प्रारम्भिक तथ्याङ्कअनुसार यसले उत्साहजनक प्रगति गरेको छ ।

प्रदेश निर्वाचन कार्यालय धनगढीका प्रमुख प्रेमराज भट्टका अनुसार कैलालीमा मात्रै करिब १० हजार नयाँ मतदाता थपिने अनुमान गरिएको छ । आयोगले आगामी कात्तिक ३० गतेसम्म मतदाता नामावली दर्ता खुला रहने जनाएको छ । निर्वाचनको मिति घोषणा भएसँगै सरकारसँगको औपचारिक परामर्श, व्यवस्थापकीय तयारी र विभिन्न योजनाको खाका तयार गर्ने काम अघि बढेको आयोगले जनाएको छ । प्रदेश निर्वाचन कार्यालयले नामावली दर्तासँगै मतदाता शिक्षा कार्यक्रम पनि सुरु गरेको छ । भट्टका अनुसार, हाल मतदान स्थलहरूको अवस्था र स्थानीय तहमा मतदाता शिक्षाको स्तरबारे अनुगमन समेत थालिएको छ ।

यसबीच, यही भदौ २३ र २४ गते भएको ‘जेनजी पुस्ता’ आन्दोलनपछि भदौ २७ गते पूर्वप्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त भएकी थिइन् । प्रधानमन्त्री कार्कीको सिफारिसमा सोही दिन प्रतिनिधि सभा विघटन गर्दै आगामी फागुन २१ गते निर्वाचनको मिति तोकिएको हो । राजनीतिक विश्लेषकहरूले यस निर्वाचनलाई ‘जेनजी आन्दोलन’ पछि बनेको नयाँ सत्ता समीकरण र नयाँ नेतृत्वको परीक्षणका रूपमा हेरेका छन् । निर्वाचन घोषणासँगै सुदूरपश्चिममा दलहरुदेखि आम मतदातासम्म राजनीतिक गतिविधि चहलपहलपूर्ण बनेको छ ।