बिहिबार, बैशाख १७, २०८३

कैलाली उद्योग वाणिज्य संघमा श्रवण देउवा प्रेस सल्लाहकारमा मनोनयन

धनगढी, ८ मंसिर /  कैलाली उद्योग वाणिज्य संघले नेपाल पत्रकार महासंघ, कैलालीका अध्यक्ष श्रवण देउवालाई प्रेस सल्लाहकारमा मनोनयन गरेको छ। संघको विधानको परिच्छेद ८.१ बमोजिम देउवालाई सोमबार औपचारिक रूपमा सल्लाहकार पदमा मनोनयन गरिएको संघका कार्यकारी अधिकृत दिनेश ओझाले जानकारी दिए।

मनोनयनपत्र प्रदान गर्दै संघका अध्यक्ष पुष्करराज ओझाले देउवाले सञ्चार क्षेत्रसँगको समन्वय सुदृढ बनाउँदै संघका गतिविधि प्रभावकारी रूपमा सार्वजनिक गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे। सञ्चारमार्फत् संघको पहिचान तथा गरिमा अभिवृद्धि हुने भएकाले प्रेस सल्लाहकारको योगदान महत्वपूर्ण हुने उनको भनाइ थियो।

कैलाली उद्योग वाणिज्य संघले विगतदेखि नै पत्रकार महासंघ कैलालीका अध्यक्षलाई प्रेस सल्लाहकार चयन गर्ने परम्परा अवलम्बन गर्दै आएको छ। नयाँ कार्यसमिति गठनसँगै संघले विभिन्न विधाका सल्लाहकार नियुक्ति तथा समितिको विस्तार गर्दै संस्थालाई पूर्णता दिने कार्यलाई तीव्रता दिएको छ।

संघमा देउवाको प्रवेशले निजी क्षेत्र र मीडिया क्षेत्रबीचको सहकार्य अझ सबल हुने अपेक्षा गरिएको छ।