शनिबार, बैशाख १२, २०८३

कैलालीको अत्तरिया बाट एमाले परित्याग गरेका गोकर्ण भट्टसहित ४ दर्जन नेता कार्यकर्ता रास्वपा प्रवेश

अत्तरियाः कैलालीको अत्तरियामा केही दिनअघि नेकपा एमाले छोडेका गोकर्ण भट्ट भोलि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्। पार्टीका केन्द्रीय सचिवालय सदस्य दिपक बोहराको उपस्थितिमा कैलालीको अत्तरियामा गोदावरी नगर समितिले प्रवेश कार्यक्रम आयोजना गरेको हो।

उक्त कार्यक्रममा गोकर्ण भट्टसँगै हरि फुलारा, सुदूरपश्चिमका जेनजी अगुवा नितिश जोशीसहित कुल ४८ जना नेताहरूले पार्टी प्रवेश गरेका छन्। पार्टी प्रवेश कार्यक्रममा सहभागीहरूलाई स्वागत गर्दै रास्वपाका नेताहरूले आगामी रणनीति र संगठन बलियो बनाउन सबैसंग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

भट्ट र अन्य नेताहरूको प्रवेशले रास्वपाको सुदूरपश्चिम प्रदेशमा संगठनात्मक दायरा बलियो हुने अपेक्षा गरिएको छ। कार्यक्रममा स्थानीय कार्यकर्ता, शुभेच्छुक र नेताहरूको उल्लेखनीय उपस्थितिले पार्टीको बढ्दो लोकप्रियता र प्रभावलाई दर्शाएको छ। रास्वपाले आगामी निर्वाचन र राजनीतिक गतिविधिमा सक्रिय भूमिकामा यी नेताहरूको सहभागितालाई प्राथमिकता दिने जनाएको छ।