धनगढी– कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर–१ स्थित एक्सिस विद्याआश्रममा सोमबार परम्परागत भुवा पर्व कार्यक्रम भएको छ । खप्तड संस्कृति संरक्षण तथा प्रवद्र्धन समाजको आयोजनामा उक्त कार्यक्रममा सुदूरपश्चिमको मौलिक संस्कृतिको संरक्षण, प्रवद्र्धन र पुस्तान्तरणमा विशेष जोड दिइएको थियो ।
पछिल्लो समय आधुनिक जीवनशैली, बसाइँसराइ तथा प्रविधिको प्रभावका कारण परम्परागत संस्कृतिहरू लोप हुने अवस्थामा पुगेकाले ती संस्कृतिहरूलाई विद्यार्थीहरूमाझ पु¥याउनु आवश्यक देखिएकाले विद्यालयस्तरमै कार्यक्रम आयोजना गरिएको आयोजक संस्थाले जनाएको छ । भुवा पर्व विशेषगरी बझाङ, बाजुरा लगायत सुदूरपश्चिमका पहाडी जिल्लामा परम्परागत रूपमा खेलिँदै आएको सांस्कृतिक खेल हो, जसले मनोरञ्जनसँगै शारीरिक सक्रियता र सामाजिक एकताको सन्देश दिन्छ ।

कार्यक्रममा बोल्दै पूर्व प्रहरी इन्स्पेक्टर लालबहादुर रोकायाले भुवा पर्वको ऐतिहासिक पृष्ठभूमि र यसको महत्वबारे जानकारी गराए । उनले अहिले भुवा पर्वको समय परेकाले विभिन्न विद्यालयहरूमा पुगेर भुवा खेल्दै संस्कृतिको संरक्षण गर्ने प्रयास भइरहेको बताए । ‘परापूर्वकालदेखि चल्दै आएका हाम्रा संस्कृतिहरू संरक्षणको अभावमा लोप हुने अवस्थामा पुगेका छन्,’ उनले भने, ‘यस्ता संस्कृतिलाई समाजमा उजागर गर्दै नयाँ पुस्तालाई हस्तान्तरण गर्नु आजको आवश्यकता हो ।’
सुदूरपश्चिम प्रदेशका संस्थापक सभामुख अर्जुन थापाले पनि कार्यक्रममा सहभागिता जनाउँदै भुवा पर्व केवल खेल मात्र नभई सामाजिक र सांस्कृतिक पहिचानको प्रतीक भएको बताए । उनले पछिल्लो समय बझाङ लगायत पहाडी जिल्लाबाट कैलालीतर्फ बसाइँसराइ बढ्दै जाँदा मौलिक संस्कृतिहरू ओझेलमा पर्दै गएको उल्लेख गरे । ‘संस्कृतिको संरक्षण घरपरिवार र समाजबाट सुरु हुन्छ, तर विद्यालयमार्फत जानकारी दिन सके यसले दीर्घकालीन प्रभाव पार्छ,’ उनले भने ।
सभामुख थापाले भुवा पर्व खेल्दा स्वास्थ्यमा समेत सकारात्मक प्रभाव पर्ने बताए । चिसो मौसममा समूहमा भुवा खेल्दा शरीर न्यानो हुने, शारीरिक तन्दुरुस्ती बढ्ने र मानसिक रूपमा पनि फुर्तिलो बनाउने उनको भनाइ थियो । उनले यस्ता परम्परागत खेलहरूलाई नियमित रूपमा विद्यालयको अतिरिक्त क्रियाकलापमा समावेश गर्न सुझाव दिए ।

कार्यक्रममा सहभागी धनगढी उपमहानगरपालिका–१ शिवनगर निवासी खडकराज जोशीले भुवा पर्व मनोरञ्जनका साथ खेलिने भएकाले सबै उमेर समूहका मानिसलाई मन पर्ने बताए । बझाङ घर भई हाल धनगढीमा बसोबास गर्दै आएका स्थानीयवासीलाई एकीकृत गर्दै प्रत्येक वर्ष भुवा पर्व खेल्ने गरिएको उनले जानकारी दिए । ‘भुवा पर्वले हामीलाई आफ्नो गाउँ, संस्कृति र पहिचान सम्झाउने काम गर्छ,’ उनले भने, ‘शहरमा बस्दा पनि यसले हामीलाई एकआपसमा जोड्ने माध्यम बनेको छ ।’
कार्यक्रममा विद्यार्थीहरूले भुवा खेलमा सक्रिय सहभागिता जनाएका थिए । उनीहरूलाई भुवा खेल्ने तरिका, यसको सांस्कृतिक अर्थ र सामाजिक महत्वबारे जानकारी दिइएको थियो । विद्यार्थीहरूले नयाँ र फरक संस्कृति नजिकबाट बुझ्न पाएको भन्दै खुशी व्यक्त गरेका थिए ।

आयोजक खप्तड संस्कृति संरक्षण तथा प्रवद्र्धन समाजले यस्ता कार्यक्रमलाई धनगढीका अन्य विद्यालयहरूमा पनि निरन्तरता दिने योजना रहेको जनाएको छ । समाजका पदाधिकारीहरूका अनुसार संस्कृति जोगाउन सरकारी प्रयाससँगै स्थानीय समुदाय, विद्यालय र युवापुस्ताको सक्रिय सहभागिता अनिवार्य छ ।
कार्यक्रमले सुदूरपश्चिमका लोपोन्मुख संस्कृतिहरूलाई पुनर्जीवित गर्न विद्यालयस्तरबाटै अभियान सुरु गर्न सकिने सन्देश दिएको सहभागीहरूको निष्कर्ष थियो । भुवा पर्वजस्ता परम्परागत खेल र संस्कृतिको संरक्षणमार्फत स्थानीय पहिचान जोगाउँदै भावी पुस्तालाई सांस्कृतिक रूपमा सचेत बनाउने दिशामा कार्यक्रम महत्वपूर्ण मानिएको छ ।