यो दृश्य धनगढी उपमहानगरपालिका–३ को हो । यही घरमा हरेक बिहान आशा र हरेक रात डर बोकेर बितिरहेको छ । कारण–घरका अभिभावक सुमित चौधरी बिना कारण भारतीय प्रहरीले पक्राउ गरेपछि अहिलेसम्म सम्पर्कविहीन छन् ।
भारतको चन्दनचौकी घर भई विगत २० वर्षदेखि धनगढीमा बस्दै आएका सुमित चौधरी वैशाख २३ गतेदेखि बेपत्ता जस्तै अवस्थामा छन् । परिवारका अनुसार, उनी श्रीमतीको माइतीघरमा नातिको पासनी कार्यक्रममा सहभागी हुन गएका थिए ।
आमा भगौटी चौधरी भन्छिन– ‘बसले सुडा छोडेपछि हिँड्दै थियो । बाटोमै वनका कर्मचारीले छोरा समाते । मार्ने धम्की दिए, कागजमा जबर्जस्ती सही गराए । के अपराध हो, अहिलेसम्म थाहा छैन ।’

परिवारको दाबी छ–सुमितसँग कुनै अवैध सामग्री थिएन । माइतीघरबाट ल्याएको सामान्य तरकारीसमेत वन कर्मचारीले खोसेको बताइएको छ ।
श्रीमती डस्नी चौधरी भन्छिन– ‘श्रीमान् दिदीको घर जानुभएको थियो । आज कहाँ हुनुहुन्छ थाहा छैन । जिउँदो हुनुहुन्छ कि छैन–यो सोच्दा रातभर निद्रा लाग्दैन ।’
सुमितका छोरा महेश अझै सानो छन् । बाबु कहिले फर्किन्छन् भन्ने प्रश्नले हरेक दिन आमालाई झस्काइरहन्छ ।
उनी भन्छिन– ‘छोराले ‘बाबा कहिले आउनुहुन्छ ?’ भनेर सोध्छ । मसँग जवाफ छैन ।’
सबैभन्दा पीडादायी पक्ष—सुमित कहाँ थुनिएका छन् भन्ने आधिकारिक जानकारी नहुनु हो । न त परिवारलाई भेट्न दिइएको छ, न त कुनै कागजी प्रक्रिया सार्वजनिक गरिएको छ ।

सीमावर्ती क्षेत्रमा बसोबास गर्ने धेरै परिवार यस्तै जोखिममा छन् । नागरिकता र अधिकारको अस्पष्टताले कतिपय निर्दोष मानिसहरू सीमापारि न्यायविहीन बन्ने गरेका छन् ।
आमा भगौटी चौधरी भन्छिन– ‘हामीलाई छोराको अवस्थाबारे जानकारी चाहिएको हो । बस यति थाहा भए पनि बाँच्ने आधार मिल्छ ।’
परिवारले नेपाल सरकार, कूटनीतिक नियोग र मानवअधिकार संस्थासँग सुमित चौधरीको खोजी र सुरक्षित रिहाइका लागि पहल गरिदिन आग्रह गरेको छ । सीमापारि हराएको एउटा नागरिक, र न्यायको प्रतीक्षामा एउटा परिवार । सुमित चौधरीको कथा केवल एक व्यक्तिको होइन, सीमामा बस्ने सयौं परिवारको साझा पीडा हो ।