शुक्रबार, बैशाख ११, २०८३

असहज परिस्थितिमा देशलाई निकास दिने पार्टी नेपाली कांग्रेस हो : मुख्यमन्त्री शाह

कैलाली, पुस १२
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले मुलुक असहज परिस्थितिमा रहेका बेला नेतृत्व प्रदान गर्दै देशलाई निकास दिने क्षमता नेपाली कांग्रेससँग मात्रै रहेको बताउनुभएको छ।
शनिबार आफ्नो निर्वाचन क्षेत्र कैलाली क्षेत्र नम्बर–२ अन्तर्गत लम्कीमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री शाहले नेपाली कांग्रेसप्रति समाजमा विभिन्न किसिमका अफवाह फैलाइए पनि ती सबै निराधार र भ्रम मात्रै भएको जिकिर गर्नुभयो। उहाँले आम जनता अझै पनि नेपाली कांग्रेसकै पक्षमा रहेको दाबी गर्नुभयो।


मुख्यमन्त्री शाहले नेपाली कांग्रेस एक वैचारिक पार्टी भएको उल्लेख गर्दै पार्टीभित्र वैचारिक मतान्तर भए पनि कांग्रेस आफ्नो सिद्धान्तप्रति स्पष्ट र प्रतिबद्ध रहेको बताउनुभयो। लोकतन्त्र, गणतन्त्र तथा संविधानप्रति कांग्रेस दृढ रहेको उल्लेख गर्दै उहाँले संविधानको रक्षा गर्न नेपाली कांग्रेस जुनसुकै समर्पण गर्न पनि तयार रहेको धारणा व्यक्त गर्नुभयो।
अर्को महाधिवेशन नहुँदासम्म नेपाली कांग्रेसको नेतृत्व सभापति शेरबहादुर देउवाकै रहने स्पष्ट पार्दै मुख्यमन्त्री शाहले पार्टीभित्र रहेका उपसभापति, महामन्त्री तथा केन्द्रीय सदस्यहरूलाई मिलाएर अघि बढाउने क्षमता देउवामा रहेको ठोकुवा गर्नुभयो।
उहाँले नेपाली कांग्रेसले महाधिवेशनको तयारीका लागि आवश्यक कार्यक्रमहरू तीव्र रूपमा अघि बढाइरहेको जानकारी दिँदै महाधिवेशनले नै नयाँ नेतृत्व चयन गर्ने बताउनुभयो। साथै, क्षेत्रगत रूपमा क्रियाशील सदस्यता वितरणमा स्पष्ट मापदण्ड तयार गरी प्रक्रिया अघि बढाइएको जानकारी पनि दिनुभयो।
कार्यक्रममा उपस्थित कार्यकर्ताहरूले मुख्यमन्त्री शाहको शीघ्र स्वास्थ्य लाभको कामना गरेका थिए। सोही अवसरमा विभिन्न पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका कार्यकर्ताहरूलाई मुख्यमन्त्री शाहले पार्टी सदस्यता प्रदान गर्दै स्वागत गर्नुभएको थियो।