बिहिबार, बैशाख १०, २०८३

चटकपुरमा अस्थायी प्रहरी विट हस्तान्तरण

 

धनगढी – धनगढीको चटकपुरमा अस्थायी प्रहरी विट हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर ३ स्थित सिपी अस्पतालको करिब एक लाख रुपैयाँको सहयोगमा उक्त प्रहरी विट निर्माण गरिएको हो।

शनिबार आयोजित कार्यक्रममा सिपी अस्पतालका सञ्चालक चन्द्र प्रकाश पाण्डे र वडा नम्बर ३ का वडा अध्यक्ष राजबहादुर ऐरले संयुक्त रूपमा प्रहरी विट हस्तान्तरण गरेका हुन्।

कार्यक्रममा बोल्दै सिपी अस्पतालका सञ्चालक पाण्डेले सामाजिक उत्तरदायित्व अन्तर्गत रहेर प्रहरी विट निर्माणमा सहयोग गरिएको बताए। उनले आगामी दिनमा पनि अस्पतालले विभिन्न सामाजिक कार्यमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

त्यसैगरी वडा अध्यक्ष राजबहादुर ऐरले चटकपुर क्षेत्रमा विगत लामो समयदेखि प्रहरी बस्नका लागि प्रहरी विट आवश्यक रहेको बताए। चटकपुरका इन्चार्ज प्रहरी सहायक निरीक्षक ललित बहादुर बोहोराको पटक–पटकको आग्रहमा प्रहरी विट निर्माण गरिएको उनले जानकारी दिए। अध्यक्ष ऐरले प्रहरी विट स्थापनाले यस क्षेत्रको शान्ति सुरक्षामा थप सहयोग पुग्ने विश्वास व्यक्त गर्दै इन्चार्ज बोहोराले शान्ति सुरक्षामा कुनै कसर बाँकी नराखी काम गरेकोमा प्रशंसा समेत गरे।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, प्रहरी अधिकारी तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।