बिहिबार, बैशाख १०, २०८३

डडेल्धुरा अस्पतालमै सम्भव बन्दै जटिल हाडजोर्नी शल्यक्रिया

डडेल्धुरा — संघीय सरकार मातहत रहेको डडेल्धुरा अस्पतालले यहाँका नागरिकलाई लक्षित गरी जटिल प्रकृतिका हाडजोर्नीसम्बन्धी शल्यक्रिया सर्वसुलभ र गुणस्तरीय रूपमा प्रदान गर्न थालेको छ । बाहिरका ठूला सहर वा जिल्लाबाहिर उपचारका लागि जाँदा बिरामी र परिवारले व्यहोर्नुपर्ने झन्झट र ठूलो खर्च पनि अब जोगिने भएको छ ।

अस्पतालमा हालै विभिन्न जटिल हाडजोर्नी शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएका छन् । अमरगढी नगरपालिका–७ का ६५ वर्षका पुरुष बिरामीको तिघ्रा फेर्ने शल्यक्रिया सफलतापूर्वक गरिएको छ । यस्तै, अमरगढी नगरपालिका–१० का ७० वर्षका पुरुषमा देखिएको घुँडाको हड्डी भाँचिएको समस्याको शल्यक्रिया पनि सफलतापूर्वक सम्पन्न भएको छ ।