धनगढी । धनगढी उपमहानगरपालिका वडा नं. ३ अन्तर्गत छ लेन सडकको आन्तरिक राजस्व कार्यालयदेखि मित्रनगर हुँदै रिङरोड जोड्ने पुरानो सडकको स्तरोन्नति कार्य सुरु गरिएको छ। लामो समयदेखि हिउँदमा धुलो र बर्खामा हिलोको समस्या झेल्दै आएका स्थानीयका लागि यो सडक निर्माण आशाको परियोजनाका रूपमा अघि बढेको छ।
सडकको क्षेत्राधिकार १४ मिटर कायम गरी दुवैपट्टि नाला सहित पक्की सडक निर्माण गर्ने लक्ष्यका साथ काम थालिएको हो। यो सडक वडा नं. ३ को पुरानो तथा अत्यधिक प्रयोगमा रहेको मार्ग भएकाले स्तरोन्नतिलाई प्राथमिकतामा राखिएको जनाइएको छ।
स्थानीय तुल्सी ऐरले वर्षौंदेखि धुलो–हिलोका कारण ठूलो सास्ती भोग्दै आएको बताउँदै सडक छिटो निर्माण गरिदिन आग्रह गरिन्। “हामीले धेरै दुःख पायौं, अब सडक बनेपछि सुख पाइन्छ कि भन्ने आश छ,” उनले भनिन्।

त्यस्तै स्थानीय बिन्दु अवस्थीले सडककै कारण दुर्घटनासमेत भएको उल्लेख गर्दै अब आफ्नै आँगन अगाडि ठूलो र व्यवस्थित सडक बन्न लागेकोमा खुसी व्यक्त गरिन्। मित्रनगरका दिप ऐरले ढिलै भए पनि धनगढी उपमहानगरपालिका प्रमुख गोपाल हमाल, यस क्षेत्रका उम्मेदवार डा. आरजु राणा देउवा तथा वडा अध्यक्ष राजबहादुर ऐरको पहलमा सडक निर्माण हुन लागेकोमा धन्यवाद दिए।

स्थानीय गणेश केसीले बाटोकै कारण दैनिक जीवन कष्टकर बनेको बताउँदै क्षेत्राधिकार हटाउन आफूहरू सहयोग गरिरहेको र निर्माण कार्य पनि छिटो अघि बढ्नुपर्ने बताए। प्रेमराज भट्टले वडा अध्यक्षको पहलमा १४ मिटर क्षेत्राधिकार कायम गरी निर्माण प्रक्रिया अघि बढेकोमा खुसी व्यक्त गर्दै विकासका क्रममा केही दिन असहज भए पनि दीर्घकालीन फाइदाका लागि सहन तयार रहेको बताए। सडक बनेपछि आवागमन र व्यापार दुवैमा सहजता आउने उनको भनाइ छ।
खेमराज भट्टले विकासका काममा अवरोध नगर्ने प्रतिबद्धता जनाउँदै क्षेत्राधिकार हटाउने काम जति तिव्र छ, सडक निर्माण पनि उति नै तिव्र हुनुपर्नेमा जोड दिए।

वडा अध्यक्ष राजबहादुर ऐरका अनुसार वडा नं. ३ को पुरानो बाटो भएकाले यसलाई प्राथमिकताका साथ स्तरोन्नति गरिएको हो। उनले स्थानीय समुदायसँग सहकार्य गर्दै १४ मिटर क्षेत्राधिकार कायम गरी सडक निर्माण सुरु गरिएको जानकारी दिए। पहिलो चरणमा धनगढी उपमहानगरपालिकाले नै क्षेत्राधिकार खाली गर्ने काम गरिरहेको र दोस्रो चरणमा ग्राभेलिङ गरिने बताए।

उनका अनुसार यी सडकहरू नालीसहित ‘स्मार्ट सडक’को अवधारणामा निर्माण गरिनेछन् र धनगढीकै योजनाअन्तर्गत बहुवर्षीय ठेक्कामार्फत पक्की सडक बनाइनेछ। वडा अध्यक्ष ऐरले सडक निर्माणमा स्वस्फूर्त रूपमा सहयोग गरेकोमा स्थानीयवासीलाई धन्यवादसमेत दिए।
यो सडक स्तरोन्नति केवल भौतिक पूर्वाधार विकास मात्र नभई वडा नं. ३ को आवागमन, सुरक्षा र आर्थिक गतिविधि सुधार गर्ने महत्वपूर्ण कदमका रूपमा देखिन्छ। स्थानीयको सहकार्य र स्वीकृतिका साथ अघि बढेको यो परियोजना समयमै सम्पन्न हुन सके धनगढीको शहरी व्यवस्थापन र जीवनस्तर उकास्ने एउटा उदाहरणीय नमूना बन्ने अपेक्षा गरिएको छ।