मङ्लबार, बैशाख ८, २०८३

असमानता विरुद्ध धनगढीमा नागरिक अभियान, समान पहुँच र सहभागितामूलक विकासको माग

 

धनगढी । गैरसरकारी संस्था महासंघ नेपाल सुदूरपश्चिम प्रदेशको आयोजना तथा ओक्सफाम नेपालको प्राविधिक सहयोगमा असमानता विरुद्धको नागरिक अभियान कार्यक्रम धनगढीमा सम्पन्न भएको छ।

शुक्रबार बिहान धनगढीको पृथ्वी चोकदेखि पार्कमोडस्थित जेन्जी मार्गसम्म विभिन्न नारासहित पम्पलेट बोकेर प्रभातफेरी आयोजना गरिएको थियो। प्रभातफेरीमा सहभागीहरूले “समानजनक जीवन जिउन पाउने अधिकार सबैको हो”, “विकास र समृद्धि नारामा होइन, जनताको सहभागितामा सुनिश्चित गर”, “नेपालबाट अवैध आर्थिक प्रवाह बन्द गरियोस्”, “मानवता विहीन र नाफाखोरी अर्थतन्त्र हामीलाई चाहिँदैन”, “शिक्षा, स्वास्थ्य र रोजगारीमा सहज पहुँच बनाऔँ” जस्ता सन्देशमूलक पम्पलेट प्रदर्शन गरेका थिए।

कार्यक्रममा गैरसरकारी संस्था जिल्ला महासंघ कैलालीका अध्यक्ष चेतमान साउँदले यो अभियान नागरिक समाजको पहल भएको बताउँदै विश्वको सन्दर्भमा एक प्रतिशत मानिसले अधिकांश स्रोतमा पहुँच जमाइरहेको र बाँकी बहुसंख्यक जनसंख्या आर्थिक मन्दीको मारमा परेको उल्लेख गरे। उनले नेपालको सन्दर्भमा सुदूरपश्चिम प्रदेश देशकै गरिब क्षेत्रमध्ये एक रहेको बताउँदै, हुनेखाने वर्गको प्रभावले राज्यको नीतिमा हस्तक्षेप भइरहेको र कर प्रणालीले धनीलाई अझ धनी तथा गरिबलाई झनै गरिब बनाइरहेको टिप्पणी गरे।

त्यसैगरी समाजसेवी भगवती हमालले सबै क्षेत्रमा असमानता व्याप्त रहेको उल्लेख गर्दै सुदूरपश्चिम नेपालकै सबैभन्दा गरिब क्षेत्र भएको बताइन्। महिलालाई पछाडि पारिने प्रवृत्तिका कारण गरिबी बढेको उल्लेख गर्दै उनले भनिन्, “जहाँ नारीको सम्मान हुँदैन, त्यहाँ हीनताबोध, गरिबी र जघन्य अपराध बढ्छ। नारी शक्ति नै समृद्धिको आधार हो।”

गैरसरकारी संस्था महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष देवीप्रसाद खनालले देशव्यापी रूपमा असमानता विरुद्ध अभियान सञ्चालन भइरहेको जानकारी दिँदै सबै क्षेत्रमा समानता सुनिश्चित गर्न महासंघ सक्रिय रहेको बताए। उनले तथ्यांकअनुसार नेपालमा प्रत्येक नागरिकको टाउकोमा औसत एक लाख रुपैयाँ ऋण रहेको उल्लेख गर्दै, सबै नागरिकको शिक्षा, स्वास्थ्य, रोजगारीलगायत आधारभूत सेवामा समान पहुँच सुनिश्चित गर्न यस्ता अभियानलाई निरन्तरता दिइने बताए।

कार्यक्रममार्फत नागरिक समाजले देश तथा प्रदेशमा बढ्दै गएको आर्थिक, सामाजिक र लैंगिक असमानताप्रति गम्भीर ध्यानाकर्षण गराएको छ। समान पहुँच, सहभागितामूलक विकास र न्यायपूर्ण कर प्रणाली बिना समृद्धि सम्भव नहुने सहभागीहरूको निष्कर्ष थियो। अभियानले राज्यका नीतिहरू जनमुखी, समावेशी र समानतामूलक बनाउन दबाब सिर्जना गर्नुका साथै असमानता विरुद्ध नागरिक सचेतना अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ। यस्ता कार्यक्रमहरूले सुदूरपश्चिमलगायत पछाडि परेका क्षेत्रको आवाज राष्ट्रिय तहसम्म पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ।