मङ्लबार, बैशाख ८, २०८३

राष्ट्रिय सभा निर्वाचनका लागि सुदूरपश्चिममा सबै तयारी पूरा, भोलि बिहान ९ देखि मतदान

सुदूरपश्चिम प्रदेशमा भोलि हुने राष्ट्रिय सभा निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको छ। अस्थायी राजधानी धनगढीस्थित राष्ट्रिय सभा निर्वाचन अधिकृतको कार्यालयमा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख–उपप्रमुखका लागि छुट्टाछुट्टै मतदान बुथ निर्माण गरिएको छ।

राष्ट्रिय सभा निर्वाचनमा सुदूरपश्चिमका ५३ प्रदेशसभा सदस्यमध्ये ५१ जनाले मतदान गर्नेछन्। प्रदेशसभा सदस्य दीर्घ सोडारी भ्रष्टाचार काण्डका कारण निलम्बनमा परेका छन् भने डाक्टर तारा जोशी प्रतिनिधिसभा सदस्यका उम्मेदवार भएकाले मतदानमा सहभागी नहुने भएका छन्। यस्तै, प्रदेशका ८८ स्थानीय तहका १७६ प्रमुख–उपप्रमुखमध्ये १७३ जनाले मात्रै मतदान गर्न पाउने सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेम भट्टले जानकारी दिएका छन्। उनका अनुसार मतदान भोलि बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ।

सुदूरपश्चिमबाट राष्ट्रिय सभाका २ पदका लागि ४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। नेपाली कांग्रेसबाट बाजुराका खम्मबहादुर खाती उम्मेदवार छन्, जो पूर्व महान्यायाधिवक्ता समेत हुन्। नेकपा एमालेबाट कैलालीकी लिला भण्डारी उम्मेदवार बनेकी छन्, उनी एमाले केन्द्रीय कमिटी सदस्य तथा पूर्व माओवादी हुन्। यस्तै, नेपाली कम्युनिस्ट पार्टीले रोजी बस्नेत सुनार र टिकाराम जैशीलाई उम्मेदवार बनाएको छ।

नेपाली कांग्रेस र नेकपा एमालेबीच गठबन्धन रहेकाले यी दुई दलका उम्मेदवारको जित लगभग निश्चित देखिएको छ। यसअघि निर्वाचित शारदा भट्ट र तारामान स्वारको कार्यकाल सकिएपछि नयाँ निर्वाचन हुन लागेको हो।