मङ्लबार, बैशाख ८, २०८३

कञ्चनपुर मझगाउँ सुरक्षा बेश क्याम्प उत्कृष्ट घोषित

धनगढी : सशस्त्र प्रहरी बल नेपाल अन्तर्गत कञ्चनपुर जिल्लामा रहेको मझगाउँ सुरक्षा बेश क्याम्प यस क्षेत्रकै उत्कृष्ट सुरक्षा इकाईका रूपमा घोषित भएको छ । केन्द्रीय निरीक्षण तथा उत्कृष्ट इकाई छनोट एवं इकाईहरूको योग्यताक्रम निर्धारण सम्बन्धी स्थायी आदेश २०८२ बमोजिम गरिएको मूल्याङ्कन अनुसार सुदूरपश्चिम बाहिनी मातहतका सुरक्षा बेशहरू मध्ये मझगाउँ उत्कृष्ट ठहरिएको हो ।

२५ औँ सशस्त्र प्रहरी दिवस तथा रजत जयन्ती का अवसरमा आयोजित विशेष समारोहमा उक्त बेश क्याम्पका प्रमुख सशस्त्र प्रहरी नायव उपरीक्षक देवराज जोशीलाई शुक्रबार सम्मान गरिएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ बैद्यनाथ बाहिनीमा आयोजित कार्यक्रममा बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक प्रदीप कुमार पालले उत्कृष्ट इकाई पुरस्कार प्रदान गरेको हो ।

यसैबीच, सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हे.क्वा. शैलेश्वरी ले पनि सशस्त्र प्रहरी नायब उपरीक्षक जोशीलाई प्रशंसापत्र प्रदान गरेको छ । शुक्रबार आयोजित २५ औँ वार्षिक उत्सव तथा रजत जयन्ती समारोहमा गणपति सशस्त्र प्रहरी उपरीक्षक लोकेन्द्र देव भट्टले जोशीलाई प्रशंसापत्रद्वारा सम्मान गरेको ह । आफ्नो कार्यक्षेत्रमा शान्ति सुरक्षा, अमन–चयन कायम गर्नुका साथै अवैध राजस्व चुहावट नियन्त्रणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै उनलाई प्रशंसापत्रद्वारा सम्मान गरिएको छ ।