धनगढी– अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरलाई विशेष बनाउँदै सुदूरपश्चिमको प्रमुख सहर धनगढीमा पहिलो पटक भव्य मःम महोत्सव आयोजना हुने भएको छ । नेपालको हस्पिटालिटी क्षेत्रमा प्रतिष्ठित पहिचान बनाएको सिद्धार्थ ग्रुप अन्तर्गतको सिद्धार्थ कटेज धनगढीले स्थानीय स्वादको प्रवद्र्धन, खाद्य पर्यटन विकास र सांस्कृतिक पहिचानलाई उजागर गर्ने उद्देश्यसहित आगामी १६, १७ र १८ गते तीनदिने मम महोत्सव आयोजना गर्न लागेको हो ।
नेपालीहरूबीच अत्यन्त लोकप्रिय खाजाको रूपमा परिचित मःमलाई केन्द्रमा राखेर आयोजना हुन लागेको यस महोत्सवमा एकै स्थानमा दुई सय भन्दा बढी प्रकारका मःम परिकारको स्वाद लिन पाइनेछ । क्लासिक मःमदेखि लिएर फ्युजन, स्थानीय स्वाद मिसिएका विशेष मःम परिकारसम्म प्रस्तुत गरिने आयोजकले जनाएको छ । यसले मःम पारखीहरूका लागि अविस्मरणीय अनुभव प्रदान गर्ने अपेक्षा गरिएको छ ।
सिद्धार्थ कटेज धनगढीका क्षेत्रीय म्यानेजर केशरराज न्यौपानेका अनुसार, महोत्सव केवल मःममा सीमित नरही सुदूरपश्चिम प्रदेशका मौलिक तथा परम्परागत खानाका विशेष स्टलहरू समेत समेटिनेछ । स्थानीय पहिचान झल्काउने यी परिकारहरूले प्रदेशको सांस्कृतिक विविधता र परम्परागत स्वादलाई प्रवद्र्धन गर्ने विश्वास गरिएको छ ।
धनगढीको मुटुमा अवस्थित सिद्धार्थ कटेज आज केवल एक रेस्टुरेन्ट मात्र नभई पूर्ण पारिवारिक मनोरञ्जन र विश्रामको केन्द्रका रूपमा स्थापित हुँदै गएको छ । यहाँ लक्जरी रेस्टुरेन्ट तथा प्राइभेट डाइनिङ सुविधा, शान्त र सुरक्षित पारिवारिक वातावरण, स्विमिङ पुल र वाटर फन पार्क, साथै ठूला सभा–समारोह, तालिम तथा उत्सवहरू आयोजना गर्न सकिने अत्याधुनिक हलहरूको व्यवस्था उपलब्ध छ ।
तीन दिनसम्म सञ्चालन हुने यस मःम महोत्सवमा पहिलो र दोस्रो दिन सांस्कृतिक नृत्य, लाइभ ब्यान्ड तथा कलाकारहरूको विशेष प्रस्तुति रहनेछ । तेस्रो तथा अन्तिम दिन पनि सांस्कृतिक कार्यक्रमसँगै मःम बनाउने र खाना पकाउने प्रतियोगिता आयोजना गरिनेछ, जसले स्थानीय प्रतिभा र नयाँ सीपलाई उजागर गर्ने अवसर प्रदान गर्नेछ । साथै, मःम पकाउन सिक्न चाहने महिला समूहहरूका लागि निःशुल्क तालिमको समेत व्यवस्था गरिएको छ । जसले आत्मनिर्भरता र सीप विकासमा योगदान पु¥याउने अपेक्षा गरिएको छ ।
सिद्धार्थ कटेजले यसअघि नेपालगञ्जमा २०८० सालदेखि निरन्तर रूपमा मःम फेस्टिभल आयोजना गर्दै आएको छ । चौथो संस्करणसम्म सफलतापूर्वक सम्पन्न भइसकेको अनुभवलाई आधार बनाउँदै धनगढीमा आयोजना हुन लागेको यस महोत्सवलाई अझ भव्य, व्यवस्थित र आकर्षक बनाइने आयोजकको दाबी छ ।
हाल सिद्धार्थ ग्रुपले देशभर होटल, रिसोर्ट, रेस्टुरेन्ट तथा क्याफे गरी ३३ वटा आउटलेटमार्फत गुणस्तरीय सेवा प्रदान गर्दै आएको छ । स्थानीय खाद्य परिकारको प्रवद्र्धन, पर्यटन विकास र सांस्कृतिक उत्सवलाई संस्थागत बनाउने उद्देश्यसहित आयोजना हुन लागेको यस मःम महोत्सवमा सहभागी भई विविध स्वाद, मनोरञ्जन र संस्कृतिको आनन्द बनाउनका साथै स्थानीय उत्पादन कपडा, पेयपदार्थ, विभिन्न भेषभुषाका पहिरन, संस्कृतिको पनि पहिचान गराउन महोत्सव गरिन लागेको आयोजकको भनाई छ ।