मङ्लबार, बैशाख ८, २०८३

धनगढी क्षेत्र नम्बर ५ मा काँग्रेस उम्मेदवार शाहको सक्रियता बढ्दो, सबै वडामा सम्पर्क कार्यालय स्थापना

धनगढी– नेपाली काँग्रेस कैलाली क्षेत्र नम्बर ५ का प्रतिनिधि सभा सदस्य उम्मेदवार नरनारायण शाह (मनु) ले आफ्नो निर्वाचन क्षेत्रका सबै वडामा सम्पर्क कार्यालय स्थापना गर्दै चुनावी गतिविधिलाई तीव्र बनाएका छन् । निर्वाचन मिति नजिकिँदै जाँदा संगठन विस्तार, मतदाता भेटघाट र पार्टी गतिविधिलाई व्यवस्थित बनाउने उद्देश्यसहित उनले वडास्तरमा सम्पर्क कार्यालय सञ्चालनमा ल्याएका हुन् ।
सम्पर्क कार्यालय स्थापनासँगै उम्मेदवार शाहले टोल–टोलमा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाटलाई पनि निरन्तरता दिइरहेका छन् । स्थानीय समस्या, आवश्यकता र जनअपेक्षा बुझ्ने तथा काँग्रेसको नीति, कार्यक्रम र प्रतिबद्धता जनतामाझ पु¥याउने लक्ष्यका साथ उनी दैनिक रूपमा विभिन्न वडामा सक्रिय देखिएका छन् । स्थानीय तहमा पार्टी कार्यकर्ता, शुभेच्छुक र आम मतदाताबीच उत्साह बढ्दै गएको काँग्रेस कार्यकर्ताहरूको भनाइ छ ।
कार्यक्रमअनुसार सोमबार धनगढी उपमहानगरपालिका वडा नम्बर १, २, ३, ४, ५, ६, ११ र १३ मा सम्पर्क कार्यालय स्थापना गरिएको थियो । त्यसैगरी मंगलबार वडा नम्बर १४ देखि १९ सम्मका वडाहरूमा साथै कैलारी गाउँपालिका वडा नम्बर ६ र ९ मा पनि सम्पर्क कार्यालय उद्घाटन गरिएको छ । बुधबार धनगढी उपमहानगरपालिका वडा नम्बर ७, ८, ९, १० र १२ मा कार्यालय स्थापना भएसँगै क्षेत्र नम्बर ५ अन्तर्गतका सबै वडामा काँग्रेसका सम्पर्क कार्यालय सञ्चालनमा आएका छन् ।
सम्पर्क कार्यालय उद्घाटनका क्रममा उम्मेदवार शाहले नेपाली काँग्रेसका संस्थापक नेता बीपी कोइरालाको तस्बिरमा माल्यार्पण गर्दै र रिबन काटेर कार्यक्रमको औपचारिक शुभारम्भ गरेका थिए । बीपीको विचार, लोकतान्त्रिक मूल्य र समाजवादप्रतिको प्रतिबद्धतालाई आत्मसात गर्दै अगाडि बढ्ने सन्देशसहित कार्यालय स्थापना गरिएको पार्टीका नेताहरूले बताएका छन् ।
कैलाली क्षेत्र नम्बर ५ अन्तर्गत धनगढी उपमहानगरपालिकाका १९ वटा वडा र कैलारी गाउँपालिकाका २ वटा वडा पर्दछन् । यी सबै वडामा स्थापना गरिएका सम्पर्क कार्यालयमार्फत पार्टीका दैनिक गतिविधि सञ्चालन गर्नुका साथै मतदातासँग नियमित सम्पर्क कायम गर्ने योजना रहेको काँग्रेसले जनाएको छ । सम्पर्क कार्यालयलाई चुनावी प्रचारको केन्द्र मात्र नभई जनताका समस्या सुन्ने र समाधानका लागि पहल गर्ने थलोका रूपमा विकास गरिने उम्मेदवार शाहको भनाइ छ ।
सम्पर्क कार्यालय स्थापना गर्दै उम्मेदवार नरनारायण शाहले आफू पार्टीभित्र सबैको साझा उम्मेदवार भएकाले सबैको साथ र समर्थन प्राप्त हुने विश्वास व्यक्त गरे । उनले पार्टीका नेता, कार्यकर्ता र समर्थकहरूलाई निर्वाचन प्रचारमा मर्यादित र अनुशासित ढंगले लाग्न आग्रह गरे । ‘हामी आफ्ना गतिविधिमा केन्द्रित बनौं । कसै अरूप्रति आक्षेप लगाउने काम नगरौं,’ उनले भने, ‘सभ्य भएर खटिऔं, निर्वाचन आचारसंहिताको पूर्ण पालना गरौं ।’
उनले निर्वाचनलाई लोकतन्त्रको महत्त्वपूर्ण अभ्यासका रूपमा उल्लेख गर्दै सभ्य, संयमित र अनुशासित तरिकाले चुनावी प्रतिस्पर्धामा सहभागी हुनुपर्नेमा जोड दिए । व्यक्तिगत आलोचना र नकारात्मक प्रचारले राजनीति कमजोर बनाउने भन्दै विकास, सुशासन र जनसेवाका मुद्दालाई प्राथमिकतामा राख्न उनले कार्यकर्तालाई निर्देशन दिए ।
स्थानीय काँग्रेस कार्यकर्ताहरूका अनुसार शाहको सक्रियता र वडास्तरमा सम्पर्क कार्यालय स्थापना भएपछि संगठन थप सुदृढ भएको छ । लामो समयदेखि क्षेत्रका सामाजिक तथा राजनीतिक गतिविधिमा संलग्न शाहले स्थानीय समस्या राम्ररी बुझेको र जनताको भरोसा जित्न सक्ने उम्मेदवार भएको उनीहरूको दाबी छ ।
आगामी निर्वाचनलाई लक्षित गर्दै काँग्रेस कैलाली क्षेत्र नम्बर ५ ले घरदैलो अभियान, कोणसभा, अन्तरक्रिया र जनसम्पर्क कार्यक्रमलाई अझ व्यापक बनाउने तयारी गरेको छ । सम्पर्क कार्यालयलाई केन्द्र बनाएर प्रचार–प्रसारलाई प्रभावकारी बनाइने जनाइएको छ । चुनावी माहोल तात्दै जाँदा उम्मेदवार शाहको सक्रियता र संगठन विस्तारले क्षेत्र नम्बर ५ मा राजनीतिक प्रतिस्पर्धा थप रोचक बन्ने संकेत देखिएको छ ।