सोमवार, बैशाख ७, २०८३

३२ वर्षको सेवा, अब नयाँ यात्रा: भोजराज पोख्रेलको भव्य विदाई समारोह

धनगढी – नेपाल विद्युत प्राधिकरण, धनगढी वितरण केन्द्रका प्राविधिक भोजराज पोख्रेलले ३२ वर्षको लामो र समर्पित सेवा पछि आज स्वैच्छिक अवकाश लिएर नयाँ जीवन यात्रामा पाइला चाल्नुभएको छ। यस अवसरमा कार्यालयमा भव्य विदाई कार्यक्रम आयोजना गरिएको थियो।
कार्यक्रमका क्रममा पोख्रेलले भावपूर्ण शब्दहरूमा आफ्नो अनुभव साझा गर्दै भने, “मलाई यो नेपाल विद्युत प्राधिकरणमा ३२ वर्ष सेवा गर्ने अवसर दिनुभएकोमा म हृदयदेखि धन्यबाद ज्ञापन गर्दछु। यदि मबाट कतै कुनै भूल वा गल्ती भएको छ भने म क्षमायाचना गर्दै आजदेखि स्वैच्छिक अवकाश लिन्छु। जय विद्युत प्राधिकरण।”
सहकर्मी र कार्यालयका उच्च अधिकारीहरूले पोख्रेलको योगदानको उच्च मूल्यांकन गर्दै उनलाई भावपूर्ण विदाई दिएका थिए। ३ दशकभन्दा लामो समय सेवा दिँदै आएका पोख्रेलको मेहनत र समर्पणले कार्यालयको कामकाजमा अमूल्य योगदान पुर्‍याएको भन्दै सबैले सम्मान गरेका थिए।
विद्युत सेवामा बिताएका वर्षहरू र योगदानलाई सम्झँदै पोख्रेलका सहकर्मीहरूले उनलाई नयाँ यात्राका लागि शुभकामना दिएका थिए।