सोमवार, बैशाख ७, २०८३

भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउनु सरकारको प्रमुख दायित्व : मुख्यमन्त्री शाह

धनगढी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउनु सरकारको प्रमुख दायित्व रहेको बताएका छन । बिहीबार आफ्नै निर्वाचन क्षेत्र (कैलाली क्षेत्र नम्बर २ लम्की) मा कार्यकर्तासँगको कुराकानीका क्रममा मुख्यमन्त्री शाहले जेन–जी आन्दोलनपछि उठेका सवालहरूलाई नयाँ जनादेशमार्फत सम्बोधन गर्न मुलुकमा निर्वाचन आवश्यक रहेको बताए ।

उनले जेन–जी आन्दोलनपछि गठन भएको सरकारले निर्वाचनको मिति तोकिसकेको अवस्थामा निर्वाचन हुने–नहुने भन्ने अन्योल सिर्जना भइरहेको बेला नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सुझबुझपूर्ण पहलमा राजनीतिक दलहरूसँग छलफल भएको र त्यसपछि राष्ट्रपति समक्ष बसेको सर्वदलीय बैठकले निर्वाचनको मिति सुनिश्चित गरेको बताए ।

मुख्यमन्त्री शाहले सरकारबाट निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा दलहरू तथा युवा वर्गसँग पर्याप्त छलफल नभएको भन्दै निर्वाचन नहुने भ्रम फैलाउने प्रयास गरेको बताए । यस्ता भ्रमका बाबजुद सरकार निर्वाचनलाई भयरहित र निष्पक्ष वातावरणमा सम्पन्न गराउन दृढतापूर्वक लागिपरेको उनको भनाइ छ ।

प्रदेश सरकारको प्रमुखको हैसियतले निर्वाचन सम्पन्न गराउनु आफ्नो दायित्व भएको उल्लेख गर्दै मुख्यमन्त्री शाहले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्दै चुनावलाई सफल बनाइने प्रतिबद्धता व्यक्त गरे ।

उनले “एकता नै बल हो” भन्ने मान्यतालाई आत्मसाथ गर्दै एकताबाट मात्रै नयाँ सम्भावना र सकारात्मक परिवर्तन सम्भव हुने विश्वाससमेत व्यक्त गरे ।