सोमवार, बैशाख ७, २०८३

कैलालीमा डीएसपी सिंह पुरस्कृत, इन्स्पेक्टर पन्त ‘पुलिस अफ द मन्थ’

धनगढी : नेपाल प्रहरीका डीएसपी र इन्स्पेक्टर सम्मानित भएका छन्। कैलाली प्रहरीले डीएसपी राजकुमार सिंहलाई पुरस्कृत गरेकोमा इलाका प्रहरी कार्यालय मालाखेतीमा कार्यरत प्रहरी निरीक्षक पुष्कर राज पन्तलाई पुस महिनाको ‘पुलिस अफ द मन्थ घोषित गरेको हो।

पन्तले संगठनले सुम्पिएको जिम्मेवारी उच्च व्यवसायिकता, लगनशीलता र कर्तव्यनिष्ठाका साथ सम्पन्न गर्दै प्रहरी संगठनको छवि उच्च बनाउन महत्वपूर्ण योगदान पु¥याएको भन्दै उत्कृष्ट घोषित गरिएको हो।

बुधबार पन्तलाई उत्कृष्ट कार्यको उच्च कदर गर्दै कार्यालय प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र चन्दबाट प्रशंसा पत्र प्रदान गरी सम्मान गरिएको हो।

पन्तले फरार प्रतिवादी पक्राउ, नदिजन्य पदार्थको अवैध दोहन नियन्त्रण, अवैध कवाड संकलनमा संलग्न सवारी साधन नियन्त्रण गरी राजस्व संकलन, अवैध लागुऔषध नियन्त्रण, अवैध काठ बरामद, संगठनको नीति अनुरूप समुदाय–प्रहरी साझेदारी कार्यक्रम सञ्चालन तथा समाजमा शान्ति सुरक्षा र अमनचयन कायम गर्न उल्लेखनीय भूमिका निर्वाह गरेको जनाइएको छ।

यस्तै, जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी नायव उपरीक्षक (डीएसपी) सिंहको सरुवाका अवसरमा ‘बिदाई तथा फेरि भेटौंला कार्यक्रम’ सम्पन्न भएको छ।

सिंहको प्रहरी वृत्त नयाँ बानेश्वर, काठमाडौं सरुवा भएको छ। उनलाई बिदाई गर्दै पुरस्कृत गरेर सम्मानपत्र पनि प्रदान गरिएको थियो।