सोमवार, बैशाख ७, २०८३

वडा प्रहरी प्रमुख बलराम पाण्डे आएदेखि धनगढीमा घरेलु मदिरा नियन्त्रणमा, निर्वाचन लक्षित कडाइ प्रभावकारी

धनगढीमा लामो समयदेखि खुलेआम उत्पादन र बिक्री हुँदै आएको घरेलु मदिरा  लाई कडाई गरिएको छ । निर्वाचनको माहोल तातेसँगै शान्ति सुरक्षा मजबुत बनाउने क्रममा वडा प्रहरी कार्यालयका प्रमुख बलराम पाण्डे आएपछि घरेलु मदिराविरुद्ध कडाइ बढाइँदा अवैध कारोबार नियन्त्रणमा आएको हो।
निर्वाचनलाई लक्षित गर्दै क्षेत्रदेखि केन्द्रसम्म राजनीतिक गतिविधि तीव्र बन्दै गएको वर्तमान अवस्थामा कुनै पनि किसिमको अवाञ्छित गतिविधि हुन नदिन वडा प्रहरी कार्यालय धनगढीले विशेष रणनीति अपनाएको छ। प्रमुख पाण्डेको नेतृत्वमा नियमित गस्ती, आकस्मिक चेकजाँच, सूचनामा आधारित कारबाही तथा घरदैलो निगरानीलाई प्रभावकारी बनाइएको प्रहरीले जनाएको छ।
प्रहरी स्रोतका अनुसार घरेलु मदिराले झगडा, होहल्ला, अस्थिरता सिर्जना गर्ने तथा निर्वाचन प्रभावित पार्ने जोखिम रहने भएकाले कुनै पनि सम्झौता नगरी कारबाही अघि बढाइएको हो। यसका कारण मदिरा कारोबारीहरू खुलेआम गतिविधि गर्न नसक्ने अवस्थामा पुगेका छन्।
जिल्ला प्रहरी कार्यालयसँग समन्वय गर्दै वडा प्रहरी कार्यालयले निर्वाचन सम्पन्न नहुँदासम्म घरेलु मदिरासहित सबै किसिमका अवैध गतिविधिविरुद्ध निगरानी र कारबाही अझ कडा बनाइने स्पष्ट चेतावनी दिएको छ। प्रहरीको सक्रियताले धनगढीमा शान्ति सुरक्षा मजबुत बन्दै गएको भन्दै स्थानीयवासीले पनि सकारात्मक प्रतिक्रिया दिएका छन्।