धनगढी– कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ११ मा आगामी निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसले आफ्नो चुनावी तयारीलाई तीव्र बनाएको छ । यसैक्रममा पार्टीले २५ सदस्यीय युवा परिचालन समिति गठन गरेको छ । युवाहरूलाई संगठित गर्दै पार्टीका गतिविधिलाई प्रभावकारी रूपमा अघि बढाउने उद्देश्यसहित समिति गठन गरिएको नेपाली कांग्रेस वडा कार्यसमितिले जनाएको छ ।
नवगठित समितिको संयोजकमा प्रताप जंग कुवर चयन भएका छन् भने सह–संयोजकको जिम्मेवारी चन्द्रमणि भट्टलाई दिइएको छ । समितिमा वडा स्तरमा सक्रिय, ऊर्जाशील तथा पार्टीप्रति प्रतिबद्ध युवाहरूको उल्लेख्य सहभागिता रहेको बताइएको छ । पार्टी संगठनलाई जरा तहसम्म बलियो बनाउने र निर्वाचनमा प्रभावकारी भूमिका निर्वाह गर्ने उद्देश्यका साथ युवाहरूलाई जिम्मेवारी प्रदान गरिएको कांग्रेसको भनाइ छ ।
संयोजक कुवरले समितिको मुख्य लक्ष्य घरदैलो अभियानलाई व्यवस्थित रूपमा सञ्चालन गर्नु, मतदातासँग प्रत्यक्ष संवाद बढाउनु तथा नेपाली कांग्रेसका नीति, कार्यक्रम र उपलब्धिहरू जनतामाझ पु¥याउनु रहेको बताए । ‘युवाहरूको सक्रियताले चुनावी माहोल निर्माणमा महत्वपूर्ण योगदान पुग्नेछ,’ उनले भने, ‘वडा नम्बर ११ मा कांग्रेसको पक्षमा सकारात्मक वातावरण बनाउने हाम्रो लक्ष्य हो ।’
सह–संयोजक भट्टका अनुसार युवाको संगठित शक्ति नै पार्टीको सबल आधार हो । उनले भने, ‘युवाहरूलाई जिम्मेवारी दिँदा उनीहरू अझ बढी सक्रिय र उत्तरदायी बन्छन् । यसले संगठनलाई चलायमान बनाउने मात्र होइन, निर्वाचनमा पनि ठोस परिणाम ल्याउने विश्वास छ ।’ उनका अनुसार समिति गठनसँगै टोल–टोलमा भेला, अन्तरक्रिया तथा मतदाता अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिनेछ ।
नेपाली कांग्रेस धनगढी–११ का नेताहरूले युवा परिचालन समितिले पार्टीको चुनावी रणनीतिलाई थप प्रभावकारी बनाउने अपेक्षा गरेका छन् । स्थानीय स्तरका मुद्दा, विकासका आवश्यकता र जनताको चाहनालाई केन्द्रमा राखेर अभियान अघि बढाइने पार्टीको तयारी छ । समितिको सक्रियतासँगै वडा नम्बर ११ मा चुनावी गतिविधि थप तीव्र बन्दै गएको देखिन्छ, जसले आगामी निर्वाचनलाई रोचक र प्रतिस्पर्धात्मक बनाउने संकेत दिएको छ ।